समाजवादी मोर्चालाई जिल्ला तहसम्म विस्तार गरिने
समाजवादी मोर्चा, नेपालले जिल्ला स्तरसम्मै संगठन बनाउने भएको छ।
चार राजनीतिक दल मिलेर बनेको समाजवादी मोर्चालाई व्यवस्थित बनाउन कार्यविधि पनि पारित गरिएको छ। मोर्चा सञ्चालनलाई व्यवस्थित गर्न कार्यविधि तयार पारिएको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।
कार्यविधि बनेसँगै मोर्चाले ७७ वटै जिल्लामा संगठन विस्तार गर्ने पाण्डेले बताए। जिल्लामा प्रत्येक पार्टीका दुई–दुई जना समेटिनेछन्।
यससँगै केन्द्रमा चारवटै पार्टीबाट बढीमा पाँच–पाँच जनासम्म राखिने भएको छ। सातै प्रदेशमा पनि संगठन बनाइने र त्यसमा चारै पार्टीका तीन–तीन जना रहने व्यवस्था गरिएको छ।
मोर्चाले आगामी साउन १२ देखि २२ गतेसम्म संयुक्त कार्यक्रम पनि गर्ने भएको छ। प्रत्येक प्रदेशमा कार्यक्रम गर्ने तयारी गरिएको उनले जानकारी दिए।
अहिले मोर्चाको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरिरहेका छन्। अब चार–चार महीनामा नेतृत्व परिवर्तन गरिने भएको छ।
समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा छन्।