कृत्रिम जलाशयको भरमा रोपाइँ (तस्वीरहरू)
असार सकिनै लाग्दा पनि पानी नपरेपछि दाङको घोराहीका किसान कृत्रिम जलाशयबाट पानी तानेर रोपाइँ गरिरहेका छन्।
दुई सातायता दाङ क्षेत्रमा पानी परेको छैन। आकाशे पानी कुरिरहेका किसानले असार सकिनै लागेपछि कृत्रिम जलाशय प्रयोग गर्न थालेका हुन्। “आकाशे पानी पर्खिराखेका थियौं, अहिलेसम्म परेको छैन,” घोराही उपमहानगरपालिका-१६, मघैका निर्मल चौधरी भन्छन्, “अझै पर्खियो भने ढिलो हुन्छ भनेर जलाशयबाट पम्पसेटले पानी तानेर रोपाइँ शुरू गरेका छौं।”
घोराही उपमहानगरले ६ वर्षअघि मघै नजिकै करीब १० बिघा क्षेत्रमा कृत्रिम जलाशय बनाएको थियो। अहिले त्यही जलाशयबाट पानी तानिरहेको निर्मलले बताउँछन्। उनका अनुसार यो जलाशयबाट मघैका किसानले ५० बिघाभन्दा बढी खेतमा खेतीपाती गर्दै आएका छन्।
घोराही-१७, गुलरियाका दीपक चौधरी पनि जलाशयबाट पम्पसेटले पानी तानेर खेती गरिरहेका छन्। “बर्खाको समयमा पनि खडेरी जस्तै छ,” दीपक भन्छन्, “पानी नपरेपछि कुलोमा पानी आउँदैन, त्यही भएर जलाशयको पानीले रोपाइँ गरिरहेका छौं।”
उनका अनुसार गुलरिया क्षेत्रको ३० बिघामा यही जलाशयको पानीले खेतीपाती गरिंदै आएको छ। जलाशयको पानीले हिउँदमा तरकारी खेती गर्न पनि सजिलो भएको दीपकको भनाइ छ।
पानी नपरेपछि घोराहीका विभिन्न क्षेत्रका किसानले कृत्रिम जलाशयको भरमा रोपाइँ गर्न थालेका छन्। कृत्रिम जलाशयबाट उपमहानगर क्षेत्रका किसान लाभान्वित भएको मेयर नरुलाल चौधरी बताउँछन्।
आकाशे पानी नपरेको वेला सहयोग पुग्ने गरी नै जलाशय निर्माण गरिएको मेयर नरुलालको भनाइ छ। “अहिले रोपाइँ गर्न सजिलो भएको छ। हिउँदमा तरकारी खेतीका लागि काम लागेको छ,” उनी भन्छन्।
घोराही उपमहानगर क्षेत्रमा ४३ वटा कृत्रिम जलाशय बनाइएका छन्। करीब २० करोड २१ लाख खर्च गरेर जलाशय निर्माण गरिएको उपमहानगरले जनाएको छ। घोराहीका १९ मध्ये १४ वटा वडामा कृत्रिम जलाशय निर्माण गरिएको सूचना अधिकारी भीमबहादुर चौधरी बताउँछन्। उनका अनुसार जलाशयले करीब ९० बिघा क्षेत्र ओगटेको छ।