जनकपुर–जयनगर रेल सेवा बिजलपुरासम्म सञ्चालन हुने
१७ किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई गत जेठ १८ गते हस्तान्तरण गरेको थियो।
भारतको जयनगरबाट जनकपुरधाम, कुर्था हुँदै महोत्तरीको भंगाहा बिजलपुरासम्म रेल सेवा सञ्चालन हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सो सेवाको आज शुभारम्भ गर्ने छन्।
जयनगर–जनकपुरधाम–कुर्थासम्मको ३५ किलोमिटरमा १५ महिनादेखि सञ्चालन हुँदै आएको रेल सेवा अब थप १७ किलोमिटर समेत गरी ५२ किलोमिटर लामो दूरीमा सञ्चालन हुनेछ।
दोस्रो चरणको भौतिक पूर्वाधार निर्माण भइसकेपछि सेवा बिजलपुरासम्म विस्तार गर्न लागिएको रेल्वेका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए। तर, जग्गाको मुआब्जा विवादको कारण तेस्रो चरणको बिजलपुराबाट बर्दिबाससम्मको रेलवे पूर्वाधार निर्माण भने रोकिएको छ।
१७ किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई गत जेठ १८ गते हस्तान्तरण गरेको थियो।
ब्रोडगेज दुई सेट रेल १९ चैत २०७८ देखि सञ्चालनमा आएको थियो।
सोमबारदेखि थप सेवा विस्तार गरी दैनिक दुवै रेल तीन पटक आउने र जाने सेवा प्रदान गर्ने महाप्रबन्धक झाले बताए। यद्यपि भंगाहा स्टेशनबाट दिनको एक पटक मात्र बिहान जाने र साँझ फर्किने सेवा प्रदान गर्ने जनाइएको छ। - रासस