मेस्सी औपचारिक रूपमै इन्टर मियामीका खेलाडी, जुलाई २१ मा डेब्यू
बार्सिलोनाका पूर्व ‘टीममेट’ सर्जियो बुस्केट्ससँगै मेस्सीले जुलाई २१ मा मेक्सिकन क्लब क्रूज एजुल विरुद्ध डेब्यू गर्नेछन्।
लियोनल मेस्सी, औपचारिक रूपमै अमेरिकी मेजर लिग सकरको क्लब इन्टर मियामीको खेलाडीका रूपमा प्रस्तुत भएका छन्। एक भिडिओ मार्फत मेस्सीलाई इन्टर मियामीले आफ्नो खेलाडीका रूपमा प्रस्तुत गरेको हो।
भिडिओमा मियामीका लागि पनि मेस्सीले १० नम्बर जर्सी नै लगाएको देखिन्छ। अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट समेत १० नम्बर जर्सीमा देखा पर्ने मेस्सीले यसअघिको क्लब पेरिस सेन्ट जर्मेनमा भने ३० नम्बर जर्सी लगाएर खेलेका थिए।
३६ वर्षीय सर्वकालीन महान् खेलाडी मेस्सीले इन्टर मियामीमा अढाई वर्षको सम्झौता गरेको बताइएको छ। सात पटकको ‘बलोन डी ओर’ विजेता मेस्सीले मियामीबाट खेल्न आफू निकै उत्साही भएको पनि बताएका छन्।
“अमेरिका र इन्टर मियामीमा करिअरको नयाँ चरण शुरू गर्न पाउँदा म निकै उत्साही छु। यो सुन्दर अवसर हो र हामी सँगसँगै यसलाई निरन्तर उत्कृष्ट बनाउने छौं,” मेस्सीले भनेका छन्।
मेस्सीले मेडिकल जाँच पास गरिसकेका छन्। नयाँ क्लबमा अनुबन्धित हुनुअघि मेडिकल जाँच गर्ने गरिन्छ।
इन्टर मियामीको खेलाडीको रूपमा मेस्सीको औपचारिक अनावरण भने स्थानीय समय अनुसार १६ जुलाईमा डीआरभी पीएनके रङ्गशालामा राति ८ बजे हुनेछ। मेस्सीसँगै मियामीले बार्सिलोनाका पूर्व खेलाडी सर्जियो बुस्केट्सलाई पनि दर्शकसामु अनावरण गर्नेछ।
मेस्सी र बुस्केट्सले सँगसँगै जुलाई २१ मा डेब्यू गर्ने पनि अन्तर्राष्ट्रिय खेल अखबारहरूले जनाएका छन्। लिग्स कप अन्तर्गत मेक्सिकन क्लब क्रूज एजुल विरुद्धको खेलमा उनीहरूले डेब्यू गर्नेछन्।
बेलायती अखबार मिररका अनुसार अमेरिकी लिगमा मेस्सीको आगमनले विश्वप्रसिद्ध ब्राजिलियन खेलाडी पेलेको न्यूयोर्क कोसमोस क्लबमा सन् १९७५ मा भएको ‘ट्रान्सफर’ लाई पनि छायामा पारेको छ।