कोशी सरकार तत्काल भङ्ग गर: एमाले
नेकपा (एमाले)ले असंवैधानिक तरीकाले गठन भएको भन्दै कोशी प्रदेश सरकार भङ्ग गर्न माग गरेको छ।
एमाले केन्द्रीय सचिवालयको शनिबार बसेको बैठकले संविधानसम्मत सरकार गठनको प्रक्रिया अगाडि बढाउन माग गरेको हो। तटस्थ बस्नुपर्ने सभामुखको हस्ताक्षरमा बनेको उद्धव थापा नेतृत्वकाे सरकार भङ्ग गर्नुपर्ने एमालेको धारणा छ।
एमालेले भनेको छ, “असंवैधानिक ढङ्गले गठन गरिएको कोशी प्रदेश सरकार भङ्ग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल आरम्भ गर्न माग गर्दछ।”
सभामुख बाबुराम गौतमले नेकपा (माओवादी केन्द्र)को कार्यकर्ताको हैसियतमा ओर्लेर नेपालको संविधान, नियन्त्रण र सन्तुलनका विश्वप्यापी मूल्यमान्यता र लोकतान्त्रिक संसदीय अभ्यासमाथि नाङ्गो प्रहार गरेको एमालेको आरोप छ।
सरकार गठनका लागि आवश्यक बहुमत नपुगेपछि असार २१ मा नेपाली कांग्रेस संसदीय दलका नेता थापा सभामुखको हस्ताक्षर लिएर मुख्यमन्त्री बनेका थिए। थापाको पक्षमा सभामुख बाहेक ४६ सांसद छन्। जबकि ९३ सदस्यीय कोशी प्रदेश सभामा सरकार बनाउन कम्तीमा ४७ सांसदको समर्थन आवश्यक पर्छ।