रमेश सायनले ल्याए ‘अन्तर’
लेखक रमेश सायनको पहिलो उपन्यास अन्तर शनिबार सार्वजनिक गरिएको छ।
काठमाडौंको मण्डला थिएटरमा आयोजित कार्यक्रममा लेखक सायनसँगै ब्लगर लेक्स लिम्बू र सञ्चारकर्मी रूपेश श्रेष्ठले पुस्तक सार्वजनिक गरेका हुन्। समलिङ्गीको विषयमा केन्द्रित पुस्तकबारे श्रेष्ठले लिम्बूसँग अन्तरसंवाद गरेका थिए।
अब लैङ्गिकतालाई फरक दृष्टिकोणले हेर्न नहुने लिम्बूको भनाइ थियो। उनले भने, “मैले २५ वर्ष पुग्दा मात्रै म समलिङ्गी हुँ, म फरक हुँ भनेर परिवारका सदस्यलाई भन्न सकेको थिएँ। तर, अब समय र समाजको चेतना फरक भैसक्यो। जन्मको प्राकृतिकतालाई स्वीकार गर्न सक्नुपर्छ।”
लेखक सायनले फरक विषयमा उपन्यास लेख्न निकै चुनौती भएको बताए। “यो विषयमा मैले लेख्न सक्नु नै यो समाजको विषयसँगको मेरो गहिरो साक्षात्कार हो,” सायनले भने।
यो पुस्तक बुकहिलले प्रकाशन गरेको हो। यसअघि पनि सायनका भागेर भूगोलभरि र छुटेका अनुहार पुस्तक प्रकाशित छन्।