छानबिन समिति गठनपछि राप्ती प्रतिष्ठानको विवाद साम्य
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बालकको मृत्यु भएपछि उत्पन्न विवाद साम्य भएको छ।
घटनाको छानबिन गर्न समिति गठन गर्ने सहमति भएको प्रतिष्ठानका डेपुटी रजिस्ट्रार तथा प्रवक्ता झंकार लामिछानेले बताए। उनका अनुसार घोराही उपमहानगरपालिका-३ का वडाध्यक्ष रामप्रसाद चौधरीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ।
छानबिन समितिमा प्रतिष्ठानबाट एक जना चिकित्सक, मृतकका आफन्त दुई जना, जिल्ला प्रशासनबाट एक जना, उपमहानगरको स्वास्थ्य शाखाबाट एक जना र राजनीतिक दलबाट एक जना सदस्य राखिएका छन्।
समिति गठनसँगै मृतक बालकका आफन्तले विरोधका कार्यक्रम पनि रोकेका छन्। बिहीबार प्रतिष्ठानमा उपचाररत घोराही-३ का ११ वर्षीय आक्रोश नेपालीको मृत्यु भएको थियो। उपचारका क्रममा अक्सिजनको सिलिन्डर विस्फोट भएपछि उनको ज्यान गएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठान र चिकित्सकको लापरवाहीले बालकको ज्यान गएको भन्दै परिवारजन र स्थानीय बासिन्दा विरोधमा उत्रिएका थिए। स्थानीयको प्रदर्शनका कारण शुक्रबार प्रतिष्ठानको कामकाज ठप्प भएको थियो। सहमति भएसँगै प्रतिष्ठानले सेवा शुरू गरेको छ।
शनिबार भएको सहमतिमा बालकको उपचारको क्रममा लागेको खर्च प्रतिष्ठानले नलिने भएको छ। त्यस्तै, शैक्षिक योग्यता अनुसार मृतक एकाघरका नजिकका आफन्तलाई रोजगारी दिने, पीडित परिवारका लागि आर्थिक सहयोग जुटाउन सर्वपक्षीय समिति बनाएर आर्थिक सङ्कलन गरिने पनि सहमति भएको छ।