भारतमा सडक निर्माणका लागि विस्फोटन गर्दा नेपालीको घरमा क्षति
भारतमा सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फ केही घरमा क्षति पुगेको छ।
भारतको धारचुला तहशिल अन्तर्गतको नयाँबस्तीमा सडक निर्माण चलिरहेको छ। सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्दा उछिट्टिएका ढुङ्गाले नेपालतर्फ महाकाली नगरपालिका-५ मसिनीबलुवामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार नेपालतर्फ तीन घरमा क्षति पुगेको छ। स्थानीय नरभान बडू, हरकसिंह ठगुन्ना र जगतसिंह ठगुन्नाको घरमा क्षति पुगेको सिंहले बताए।
भारतले बिहीबार र शुक्रबार लगातार सडक निर्माणका लागि विस्फोटक पदार्थ प्रयोग गरेको थियो। विस्फोटक पदार्थ प्रयोग गर्दा ढुङ्गा उछिट्टिएर घरमा लागेको स्थानीय नरभान बडूले बताए।
“ब्लास्टिङ गर्दा भारतबाट ढुङ्गा उछिट्टिएर नेपालतर्फ खेतबारीसम्म पुगेका छन्, घरमा क्षति पुगेको छ,” बडूले भने, “भारतीय पक्षले सूचना नदिएर ब्लास्टिङ गर्ने गरेको छ, यसबाट थप क्षतिको खतरा छ।”
यसबाट थप क्षति हुन नदिन भारतीय पक्षसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।