कांग्रेस संसदीय दलको नेता परिवर्तनको प्रयास निरन्तर रहन्छ: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस संसदीय दलको नेता परिवर्तन गर्ने आफ्नो प्रयास निरन्तर रहने बताएका छन्।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीका साथीहरूको साथ र संख्या पुगेको अवस्थामा संसदीय दलको नेता परिवर्तनका लागि सार्थक प्रयास हुने बताए। “म दलको नेतामा लडेको मान्छे हुँ। हुनुपर्छ भनेरै प्रयास गरेको हो। मेरो निरन्तर कोशिश हुन्छ,” थापाले भने।
पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्न स्थान दिएको र पार्टीभित्र पटक पटक प्रयोग हुनाका साथै नेता परिवर्तन भएको उदाहरण रहेको उनको भनाइ थियो। थापाले भने, “साथीहरूको संख्याले सार्थकता दिन्छ भन्ने महसूस भएपछि अवश्य प्रयास हुन्छ।”
कोशी सरकार निर्माणका सम्बन्धमा सर्वोच्च अदालतको आदेशलाई पार्टीले स्वीकार गर्ने उनले बताए। केन्द्रीय समितिको बैठक नबसेको कारण कोशी सरकार गठनका सम्बन्धमा खुला छलफल गर्न नसकिएको बताउँदै यसबाट राष्ट्रिय राजनीतिका थुप्रै विषय प्रभावित बनेको धारणा राखे।
महामन्त्री थापाले केन्द्रीय समितिको बैठकले नीति महाधिवेशनको मिति तय गर्नुका साथै नीति अधिवेशनले निर्वाचनमा राजनीतिक दलहरूबीच गठबन्धन गर्ने राजनीतिक संस्कृतिको अन्त्य गर्नुका साथै नयाँ बाटो खोज्ने बताए।
एक अर्को प्रश्नको जवाफमा वर्तमान गठबन्धन सरकार परिवर्तन नहुने जिकिर गर्दै उनले सरकारले जनताप्रति दत्तचित्त भई कार्य गर्नुपर्नेमा जोड दिए।