चराविद् भुसालले ल्याए ‘गिद्धः प्रकृतिका कुचिकार’
चराविद् कृष्णप्रसाद भुसालको गिद्धः प्रकृतिका कुचिकार पुस्तक सार्वजनिक भएको छ।
गिद्ध अनुसन्धान र संरक्षणमा १५ वर्षदेखि सक्रिय भुसाल गिद्धबारे नै पुस्तक लेखेका हुन्। मरेका जनावरको सिनो र फालेको मासुजन्य फोहोर पदार्थ खाएर वातावरण सफा राख्न मद्दत गर्ने भएकाले गिद्धलाई ‘प्रकृतिको कुचिकार’ पनि भन्ने गरिएको छ।
तीन दशकयता नेपालामा गिद्धको संख्या निरन्तर घट्दै गएको छ। केही गिद्धका प्रजाति त लोप हुने खतरामा छन्। गिद्ध संरक्षणको प्रचारप्रसार, संरक्षणमा समुदायलाई सक्रिय र उत्प्रेरित गर्ने उद्देश्यले पुस्तक लेखेको भुसालले बताए।
पोखरामा आयोजित एक कार्यक्रममा डिभिजन वन कार्यालय, कास्कीका प्रमुख केदार बराल, प्रकृतिका साथी संस्थाका निर्देशक राजु आचार्य, गिद्ध संरक्षणमा क्रियाशील फोटो पत्रकार कृष्णमणि बराल, गिद्ध अनुसन्धान तथा संरक्षणका अभियन्ता हेमन्त ढकाल, पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरे, नेपाल पन्छी संरक्षण संघका गिद्ध संरक्षण कार्यक्रम प्रमुख अंकितविलास जोशी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाकी अधिकृत सुधा ढुंगाना, अधिकृत रवीन्द्र कडरिया र नेपाल पन्छी संरक्षण संघ, पोखराका संयोजक प्रवेश पाण्डेले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन्।
हिमाली अनुसन्धान केन्द्रले प्रकाशन गरेको पुस्तक दुई भागमा विभाजित छ। पहिलो भागमा गिद्धको परिचय, महत्त्व र अवस्थाबारे विस्तृत विवरण छ भने दोस्रो भागमा लेखक भुसालले गिद्ध संरक्षणका क्रममा हासिल गरेको अनुभव, फिल्डमा देखे-भोगेका घटनाको चर्चा गरेका छन्।
पुस्तकको मूल्य ५५० रुपैयाँ छ। पुस्तक बिक्रीबाट आएको रकमको केही प्रतिशत गिद्ध अनुसन्धानमा लाग्ने विद्यार्थीलाई सहयोग गरिने जनाइएको छ।