यस्ता छन् एकीकृत समाजवादीको सचिवालय बैठकका अजेन्डा
समसामयिक राजनीतिसँगै विविध विषयमा छलफल गर्न नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ।
पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि शुरू भएको सचिवालय बैठकमा नेताहरूले बोल्ने क्रम नसकिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। उनका अनुसार बैठकमा मुलुकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, संगठन सुदृढीकरण अभियानको समीक्षा तथा समसामयिक विषयमा छलफल चलिरहेको छ।
त्यस्तै, संगठन सुदृढीकरण विशेष अभियान सम्बन्धी जानकारी गराइएको बैठकमा वर्तमान परिस्थिति, आगामी कामको विस्तृत योजना, कामको उद्देश्य, प्राथमिकता, कार्ययोजना, कार्यविभाजन, पार्टीका रिक्त पदाधिकारी तथा सदस्यमा कसलाई मनोनीत गर्ने भन्ने विषयमा प्रस्ताव र कमिटीका समायोजन तथा थपघटबारे छलफल पनि हुने खतिवडाले बताए।
यससँगै बैठकमा जनसंगठन युवा र विद्यार्थी, विभागका काम र व्यवस्थापन, प्रचार विभागबारे पनि छलफल हुनेछ। जनसंगठनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा नेताहरूले आफ्ना धारणा राखिरहेको छन्।
पार्टी परित्याग गरी गएका चूडामणि जङ्गली, केदार न्यौपाने, मुकुन्द न्यौपाने लगायत नेताको पद रिक्त छ। त्यस्तै, बागमती र लुम्बिनी प्रदेशमा इन्चार्ज पद पनि रिक्त छन्। त्यसमा जिम्मेवारी तोक्ने विषयमा पनि छलफल हुने खतिवडाले बताए।