अध्यक्ष ओलीले बोलाए सचिवालय बैठक
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालयको बैठक बोलाएका छन्।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा शनिबार सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। समसामयिक विषयमा छलफल गर्न केन्द्रीय सचिवालयको बैठक बोलाइएको गौतमले जानकारी दिए।
अध्यक्ष ओलीले असार २७ मा उपाध्यक्षहरूसँग सामूहिक छलफल गरेका थिए। पार्टीका गतिविधि र कामकारबाहीका विषयमा उपाध्यक्षहरूसँगको छलफलपछि अध्यक्ष ओलीले आज सचिवालय बैठक बोलाएका हुन्।
सचिवालय बैठकमा समसामयिक राजनीतिक विषयसँगै आन्तरिक संगठन निर्माणका विषयमा पनि समीक्षा हुने जनाइएको छ। त्यस्तै, सांगठनिक संरचना, केन्द्रीय नेताहरूको कार्यविभाजन लगायत विषयमा पनि सचिवालय बैठकमा छलफल हुने भएको छ।