झोलुङ्गे पुलको लठ्ठा चुडिंदा नेपाल-भारत आवतजावत बन्द
महाकाली नदीमाथिको झोलुङ्गे पुलको लठ्ठा चुडिंदा नेपाल-भारत आवतजावत बन्द भएको छ।
दार्चुलाको महाकाली नगरपालिका-९ दत्तु र भारतको बालुवाकोट जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुडिएको हो। जसका कारण जोखिम उत्पन्न भएकाले आवतजावत नगर्न जिल्ला प्रशासन कार्यालय, दार्चुलाले अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै प्राविधिक जाँचपछि मात्रै पुल भएर आवतजावत गर्न आग्रह गरेको छ। “झोलुङ्गे पुलको भारततर्फ लठ्ठा भाँचिएको छ, पुलको मर्मतपछि मात्र आवागमन गर्न अनुरोध गरेका छौं,” दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले भने।
यो नाकाबाट दैनिक सयौं स्थानीय आवातजावत गर्ने गर्छन्। जिल्लाको महाकाली नगरपालिका, मालिकार्जुन, लेकम गाउँपालिकाका र शैल्यशिखर नगरपालिकाका अधिकांश बासिन्दा दैनिक उपभोग्य सामान किनमेलका लागि झोलुङ्गे पुलबाट भारतको बलुवाकोट जाने गरेका छन्।
पुलमाथि आवतजावत बन्द भएपछि स्थानीय बासिन्दालाई दैनिक उपभोग्य समान किन्न समस्या परेको स्थानीय नारद विष्टले बताए। -रासस