गरीबको पार्टी छैन: हरि शर्मा
समकालीन नेपाली राजनीतिमा गरीबको पार्टी नै नभएको राजनीतिशास्त्री हरि शर्माले औंल्याएका छन्।
त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभागले शुक्रबार पाटनमा आयोजना गरेको ‘नेपालमा उदाउँदो राजनीतिक प्रवृत्ति र समावेशी लोकतन्त्रका चुनौती’ विषयक कार्यक्रममा बोल्दै राजनीतिशास्त्री शर्माले नेपाली राजनीतिमा लोकरिझ्याइँ हावी हुँदै गएको धारणा राखे। “हाम्रो समाज नायकको खोजीमा छ जसले गर्दा लोकरिझ्याइँको राजनीति उदय भइरहेको छ,” शर्माले भने, “लोकरिझ्याइँले हामी त भन्छ, तर त्यो हामीमा बहुलता हुँदैन। नेपाली राजनीतिमा अहिले गरीबको पार्टी छैन।”
नेपाल सहित विश्वभर नै ‘मुक्तिकामी राजनीति’ कमजोर हुँदै गएकोमा पनि उनले चिन्ता व्यक्त गरे। “अहिले कोही पनि मुक्तिकामी राजनीतिको कुरा गर्दैन,” शर्माको विश्लेषण थियो, “नयाँ उदाइरहेका शक्तिमा पनि मुक्तिदायी दृष्टिकोण छैन।”
शर्माले २०६२-६३ पछिको नेपालको लोकतान्त्रिक अभ्यासको साङ्गोपाङ्गो विवेचना पनि गरे। दोस्रो विश्वयुद्धपछि उपनिवेशहरू स्वाधीन भए पनि अधिकांश उत्तरऔपनिवेशिक राज्यहरूमा तानाशाही हावी भएको चर्चा गर्दै उनले संविधान निर्माणको संक्रमण लामो हुँदा नेपाली राजनीतिमा लोकतान्त्रिक पद्धति बलियो हुन नसकेको बताए।
उनले पहिलो र दोस्रो संविधानसभाको तुलनात्मक अध्ययन गर्न जरुरी रहेको बताए। “पहिलो संविधानसभा ताका हरेक सम्बन्ध परिभाषित र पुनःपरिभाषित भइरहेका थिए,” उनले भने।
नेपालको लोकतान्त्रिक अभ्यासमा डेलिभरी भएन भन्ने गुनासोलाई सम्बोधन गर्दै शर्माले लोकतन्त्रमा डेलिभरी मात्र नभई न्याय, सहभागिता र हरेक व्यक्तिको प्रतिष्ठा पनि समेटिनुपर्ने तर्क गरे। “डेलिभर भएन भनिरहेछौं, तर त्यसका लागि के गर्नुपर्छ भनेर चर्चा गरेनौं,” उनको टिप्पणी थियो।
२०४६ सालपछिको राजनीतिक अभ्यासमा अव्यवस्था हावी भएकाले र लोकतान्त्रिक अभ्यासका क्रममा आर्थिक न्यायमा ध्यान नपुग्दा लोकरिझ्याइँले स्थान पाएको उनको विश्लेषण थियो।
अहिलेको समयमा मान्यताहरू ‘अपनियन’ ले निर्देशन गरेको तर्क गर्दै शर्माले नेपाली समाजको धैर्य कम भएको जिकिर गरे। संघीयता लागू भएको १० वर्ष नपुग्दै त्यसको आवश्यकता छैन भनेर तर्क गर्नु हतारो भएको उनको भनाइ थियो। “डेरा पो छिटो छिटो फेर्न सकिन्छ, घर बन्न समय लाग्छ,” शर्माले भने।
लोकरिझ्याइँले नेपाली राजनीतिमा प्रभाव जमाउँदै गए पनि यसको आयु लामो नभएको उनको विश्लेषण थियो। “हाम्रो समाजको कटु यथार्थ विविधता हो,” उनले भने।