असार सकिन लाग्दा झन्डै आधा खेतमा रोपाइँ बाँकी
असार सकिन लाग्दा यो वर्ष झन्डै आधा खेतमा धान रोपाइँ बाँकी रहेको देखिएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले असार २९ गतेसम्म देशका ५३ प्रतिशत खेतमा मात्र रोपाइँ सकिएको जनाएको छ। यो गत वर्षको तुलनामा थोरै हो। गत वर्ष असार २९ सम्म ६५ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको थियो।
अझै कम्तीमा धान रोपाइँका लागि दुई साता बाँकी छ। तैपनि रोपाइँ ढिला हुँदा धान उत्पादनमा कमी आउने जोखिम हुन्छ। पानीको उपलब्धता एवं मौसमको अनुकूलताका कारण छिटो रोपाइँ सकिएको वर्ष उत्पादन बढी हुने सम्भावना रहन्छ।
मन्त्रालयका अनुसार देशको प्रमुख अन्न भण्डार मधेश प्रदेशमा २८ प्रतिशत खेतमा मात्रै रोपाइँ सकिएको छ। गत वर्ष यही अवधिमा मधेशमा ५७ प्रतिशत खेतमा रोपाइँ सकिएको थियो।
त्यस्तै, कोशीमा ५६ प्रतिशत र बागमतीमा ४५ प्रतिशत भागमा रोपाइँ सकिएको छ। सबैभन्दा धेरै सुदूरपश्चिममा ८५ प्रतिशत र कर्णालीमा ७० प्रतिशत भागमा रोपाइँ सकिएको छ।
यो वर्ष मनसुन शुरू हुन ढिला भएका कारण रोपाइँको गति सुस्त भएको मन्त्रालयले दाबी गरेको छ। गत वर्ष ५ जूनमा नै शुरू भएको मनसुन यो वर्ष १४ जूनमा मात्रै भित्रिएको थियो।
खासगरी मधेश, कोशी र बागमती प्रदेशमा मनसुन भित्रिन ढिला भएकाले कुल रोपाइँको क्षेत्र थोरै भएको मन्त्रालयले जनाएको छ। देशको अधिकांश क्षेत्रको खेती मनसुनी वर्षामा आधारित छ।
अर्कातिर यो वर्ष महामारीका रूपमा देखापरेको लम्पी स्किन रोगका कारण धान रोपाइँ प्रभावित हुन पुगेको छ। लम्पी स्किन रोगले देशभरिका हजारौं गाईगोरु बिरामी परेका छन्। खेत जोत्ने गोरु बिरामी हुँदा खेत रोपाइँ प्रभावित भएको मन्त्रालयले जनाएको छ।
धानबाली नेपालका अधिकांश किसान परिवारको मुख्य आधार बाली हो। नेपालको कुल कृषि उत्पादनमा धानबालीको भूमिका २० प्रतिशत हाराहारी छ। देशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले एकचौथाइ हिस्सा ओगट्छ।