मकवानपुरको मनहरी गाउँपालिकामा रहेका विभिन्न १९ विद्यालयका प्रधानाध्यापकले सामूहिक राजीनामा दिएका छन्।
गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले मानसिक दबाब दिएको भन्दै उनीहरूले शुक्रबार सामूहिक राजीनामा दिएका हुन्। सामूहिक राजीनामा दिनेमा आधारभूत विद्यालयका १८ र माध्यमिक विद्यालयका एक जना प्रधानाध्यापक छन्।
शिक्षाको गुणस्तर सुधार्ने निहुँमा अध्यक्ष कालाखेतीले लामो समयदेखि मानसिक दबाब दिएको उनीहरूले बताएका छन्। विद्यालयको गुणस्तर सुधार गर्न प्रधानाध्यापकलाई सरुवा गर्ने भन्दै दबाब दिएको उनीहरूको भनाइ छ।
“कि त प्रधानाध्यापकको जिम्मेवारीमा हेरेफेर गर्नुपर्यो कि प्रधानाध्यापकलाई अन्यत्र सरुवा गर्दा शिक्षकको हैसियतमा सरुवा गरिनुपर्यो, पुरानो स्कूलमा जति सुधार गर्न सकिन्छ, नयाँमा गएर वातावरण बुझ्नै समय लाग्छ। बरु विकल्पमा त्यहींको शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिन सकिन्छ,” मनहरी-४ मसिनेस्थित पशुपति माविका प्रधानाध्यापक भानुभक्त आचार्यले भने, “प्रधानाध्यापकलाई प्रधानाध्यापककै हैसियतामा सरुवा गरेर शैक्षिक गुणस्तर सुधार्न सकिंदैन, भोलि फेरि प्रधानाध्यापककै काँधमा दोष थोपरिन्छ।”
पहिलो लटमा १९ जनाले राजीनामा दिए पनि गाउँपालिकाभरका ३२ वटै विद्यालयका प्रधानाध्यापकहरू गाउँपालिका अध्यक्ष कालाखेतीको विचारमा सहमत नभएको उनले बताए। “अब अरूको पनि राजीनामा आउनेछ,” आचार्यले भने।
यस विषयमा छलफल गर्न बोलाएको बैठकमा समेत गाउँपालिका अध्यक्ष कालाखेतीले दुर्व्यवहार गरेको नेपाल शिक्षक महासंघ मनहरीका अध्यक्ष नवराज डोटेलले बताए। प्रधानाध्यापकहरूले जिम्मेवारीबाट राजीनामा दिइसकेको र सरुवा हुनका लागि पनि गाउँपालिकाबाट प्रक्रियामा रहेको उनको भनाइ छ।
प्राथमिक तहका प्रधानाध्यापकको आपसी सहमतिमा सरुवा गर्ने गाउँपालिका शिक्षा समितिले निर्णय गरेको र त्यही अनुसार कार्यान्वयनका क्रममा सरुवा गर्न लागिएको मनहरी गाउँपालिकाका अध्यक्ष कालाखेतीले बताए। गाउँपालिकामा कसैले पनि संयुक्त रूपमा राजीनामा नबुझाएको र आफूलाई पायक पर्ने विद्यालयमा जान दुई वटा विद्यालयको सहमतिमा प्रधानाध्यापकहरूको सरुवा गर्न लागिएको उनको भनाइ छ।