बालकको मृत्युपछि स्थानीयद्वारा अस्पतालमा प्रदर्शन
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा एक बालकको मृत्यु भएपछि स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन्।
घोराही उपमहानगरपालिका-३ का १० वर्षीय आक्रोश नेपालीको उपचारका क्रममा बिहीबार ज्यान गएको थियो। स्वास्थ्यकर्मीको लापरवाहीका कारण बालकको ज्यान गएको आरोप लगाउँदै स्थानीय बासिन्दा विरोधमा उत्रिएका हुन्।
उनीहरूले शुक्रबार बिहानैदेखि प्रतिष्ठान बाहिर प्रदर्शन गरिरहेका छन्। स्थानीयको प्रदर्शनका कारण अस्पतालको सेवा प्रभावित छ।
स्थानीय बासिन्दा र विद्यार्थीको प्रदर्शनका कारण प्रतिष्ठान क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ। अप्रिय घटना नहोस् भनेर सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले बताए।