सोमपालको उत्कृष्ट ब्याटिङमा नेपालले पाकिस्तानलाई दियो १८० रन लक्ष्य
सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले पाकिस्तानलाई १८० रनको लक्ष्य दिएको छ।
एसीसी इमर्जिङ टीम्स कप अन्तर्गत पाकिस्तान ‘ए’ सँगको खेलमा नेपालले ३७ ओभरमा १७९ रन बनाएको हो। नेपालका लागि सोमपाल कामीले ७५ रन बनाए। उनले १०१ बलमा नौ चौका र दुई छक्का प्रहार गरे।
त्यस्तै, नेपालका लागि प्रतिश जीसीले २६, कुशल मल्ल र अर्जुन साउदले १७–१७, गुल्सन झाले १३ र आसिफ शेखले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
पाकिस्तान ‘ए’ का लागि शहनावाज दहानीले पाँच, मोहम्मद वासिमले चार र मुबासिर खानले एक विकेट लिए।
अब केही बेरमा पाकिस्तानले ब्याटिङ गर्नेछ।
एसीसी इमर्जिङ टीम्स कपमा आठ टोली प्रतिस्पर्धा गरिरहेका छन्। नेपाल रहेको समूह ‘बी’ मा पाकिस्तानसँगै भारत र यूएई छन्।
त्यस्तै, समूह ‘ए’ मा अफगानिस्तान, श्रीलंका, बाङ्लादेश र ओमन छन्। नेपाल बाहेक सातै देशका दोस्रो टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।