सुर्तीजन्य वस्तुमा कर बढाउन माग
सुर्तीजन्य वस्तुको बिक्रीबाट उठाइने करमध्ये ८० प्रतिशत क्यान्सर अस्पताल र स्वास्थ्य सेवामा खर्च गरिनुपर्ने सुझाव समेत दिइएको छ।
राष्ट्रिय सभाको आजको बैठकमा सांसद देवेन्द्र दाहालले सुर्तीजन्य वस्तुमा कर बढाउन माग गरेका छन्। आर्थिक विधेयक, २०८० माथिको दफाबार छलफलमा भाग लिंदै सांसद दाहालले सुर्तीजन्य पदार्थको करमा संशोधनको प्रस्ताव पेश गरेका थिए।
आर्थिक विधेयक, २०८० ले विदेशबाट आयात गरिने र स्वदेशमै बनेको बिंडीमा प्रतिखिल्ली ३० पैसा, चुरोट र सिगारमा प्रतिखिल्ली ६० पैसा र तयारी खाने खुर्ती, गुट्खा, पानमसलामा प्रतिकिलो रु.६० का दरले स्वास्थ्य जोखिम कर लगाई असुल हुने उल्लेख गरेको छ।
आज गरिएको प्रस्तावमा बिंडीमा प्रतिखिल्ली ३० पैसाको सट्टा ४०, चुरोट र सिगार ६० पैसाको सट्टा ७५ पैसा कायम गर्ने र सुर्ती, गुट्खा, पानमसलामा प्रतिकिलो रु.६० रहेकामा बढाएर रु.७० पुर्याउन माग गरिएको छ।
सुर्तीजन्य वस्तुको प्रयोगका कारण स्वास्थ्यलाई हानि गर्ने र क्यान्सर जस्तो गम्भीर रोग निम्त्याउने भएका कारण स्वास्थ्य सेवा कर बढाइनुपर्ने सांसद दाहालले बताए। सुर्तीजन्य वस्तुको बिक्रीवितरणबाट उठाइने करमध्ये ८० प्रतिशत क्यान्सर अस्पताल र स्वास्थ्य सेवामा खर्च गरिनुपर्ने सुझाव राष्ट्रिय सभाबाट आएको छ।