‘सबैभन्दा धेरै पढ्नुपर्ने शिक्षकले हो, तर पढ्दैनन्’
“अधिकांश शिक्षकलाई ‘मलाई सबै थाहा छ, मैले किन पढ्ने’ भन्ने लाग्छ। त्यसैले किताब पढ्दैनन्।”
लेखक हरिहर तिमिल्सिना पेशाले शिक्षक हुन्। अढाई दशक शिक्षण पेशामा बिताएका तिमिल्सिनाले पहिलो उपन्यासका रुपमा कखरा ल्याएका छन्।
साँगास्थित नेपाल प्रहरी स्कूलमा अध्यापनरत उनी ‘सिकाउनका लागि पढौं’ अभियान अन्तर्गत शिक्षकलाई उत्प्रेरित गर्ने कार्यक्रममा पनि उत्तिकै सक्रिय छन्। उनी ‘गोजीमा दाम छैन’ लगायत थुप्रै गीतका रचनाकार पनि हुन्।
पछिल्लो किताब कखरा मा केन्द्रित भएर हिमालखबरकाे साप्ताहिक प्रस्तुति किताबका कुरामा लेखक तिमिल्सिनासँग महेश्वर आचार्यले गरेको कुराकानीः
शिक्षण पेशामा संलग्न हुनुहुन्छ। शिक्षणसँगै सम्बन्धित विषयमा उपन्यास लेख्ने योजना कसरी बन्यो?
अहिले पनि विद्यालयमा छात्राको संख्या थोरै छ। मौका पाउँदा छात्राले पढाइमा राम्रो गर्न सक्छन्, तर राम्रो गर्दागर्दै पनि कतिपयले भने अवसर नै पाउँदैनन्। प्रगति, उन्नतिको जति कुरा गरे पनि समाजमा लैङ्गिक समानता अझै आइसकेको छैन।
त्यही भएर समाजमा रहेका ‘सरस्वती’हरू विविध कारणले अनुत्तीर्ण हुन बाध्य छन्। समाजमा भेदभाव कायम छ, बालविवाह निर्मूल हुन सकेको छैन भन्ने विषयमाथि लेखेको थिएँ। राम्रो पढाइ गरिरहेकी छात्राले विवाह भएपछि पढाइ छोड्नुपर्छ, एसईईमा राम्रो गर्न नसक्दा विवाह गरेर पठाइदिने गरिन्छ, कतिले त आत्महत्या नै गरेको लगायत विकृतिमाथि ‘अनुत्तीर्ण सरस्वती’ लेखेको थिएँ। त्यो लेखबारे आएका प्रतिक्रियाले कखरा लेख्ने पृष्ठभूमि तयार गरेको हो।
अर्को, लेख प्रकाशित भएपछि सिकाइ समूहका सुदर्शन घिमिरेले यो विषयमा आख्यान नै लेख्नुपर्छ भनेर सुझाउनुभयो। त्यसपछि किताब लेख्दै जाँदा जति पात्र बनाएँ, उनीहरू जस्ता व्यक्तिसँग पटक पटक ठोक्किन पुगेको छु। उनीहरूको खुशी र आँसु नजिकबाट नियालेको छु।
बालबालिका समाज र विद्यालय दुवैतिरबाट प्रताडित छन्। यता र उताबाट प्रहार हुने फूटबल जस्ता भएका छन्। उनीहरूलाई सपार्नकै लागि त्यसो गरेका हौं भन्छौं, तर गर्न जानेका छैनौं। त्यही भएर परिवार, विद्यालय, अभिभावकका कारण कतिपयको जिन्दगी बिग्रेको छ। उनीहरूका कथा बाहिर आउनुपर्छ भन्ने भावना अन्तरमा कतै लुकिरहेकै थियो। आफूले गरेका गल्तीमा माफ माग्नुपर्छ भन्ने हुटहुटीले उपन्यासको जन्म भयो।
साढे दुई दशक देखेभोगेका शिक्षक, विद्यार्थी र अभिभावकका कथा नै यसमा बुनेको छु। त्यही भएर यो सत्यसँग नजिक छ। चरित्रको नाम-ठाउँ फरक होला, तर घटना र भावना शाश्वत छन्।
त्यस्तै, लेख्न प्रेरित गर्ने अर्को कुरा पुस्तक अभाव हो। पाठ्यक्रम विकास केन्द्रसँग जोडिएर काम गर्दा किशोर उमेरका पाठकलक्षित पुस्तकको अभाव देखें। तथ्याङ्कले किशोर उमेरको जनसंख्या ७० लाख देखाउँछ, तर तिनलाई हुने किताब नै छैनन्। उनीहरू अंग्रेजी साहित्य पढ्न बाध्य छन्। त्यो उमेर सुहाउँदो कथा र पाठ्यसामग्री नेपाली भाषामा दिन सकेका छैनौं।
बालबालिका मोबाइलमै झुन्डिए भन्ने गुनासो गर्छौं। तर, अरू विकल्प दिन सकेका छैनौं। आजको पुस्तालाई राम्रो साहित्य र राम्रो संस्कार दिंदै किताबतिर तान्न सकिन्छ कि भन्ने मेरो सानो प्रयास पनि हो।
२५ वर्षदेखि शिक्षण कर्ममा हुनुहुन्छ। त्यो अनुभव कखरामा कत्तिको आएको छ?
प्रशस्तै आएको छ। मैले त्यस्ता अनेकौं छात्रा देखें, जसले आफ्नो होइन, समाजका कारण, विपन्नताका कारण तीक्ष्णताका बावजूद पनि पढाइ पूरा गर्न पाएनन्। त्यस्ता अनेकौं सरस्वती जसका कथाले उद्वेलित थिएँ, तिनले पनि कखरा लेख्न हुटहुटी जगाएका हुन्।
किताबमा विद्यार्थीलाई चिन्ने-जान्ने (कु)मौका पाएँ भन्नुभएको छ। यो मौका वा कुमौका के हो?
२५ वर्षअघि शिक्षण कर्ममा लाग्दा एउटा शिक्षकले के गर्नुपर्छ, उसको कर्तव्य के हो भन्ने थाहा थिएन। खासमा शुरूआतको त्यो वेला विद्यार्थीलाई चिन्ने, जान्ने मौका हुँदो रहेछ। तर, त्यो मौका थाहा पाउन नसक्दा कुमौका हुन पुग्यो भन्ने आशय हो। अरूले जे गरे, शुरूमा मैले पनि त्यहीं गरें। मेरा कारणले कति विद्यार्थीलाई अप्ठ्यारो पर्यो होला। म असल शिक्षक बन्न नसक्दा कति विद्यार्थीलाई आघात पर्योे होला। त्यसका लागि क्षमाप्रार्थी छु।
समयक्रममा के बुझें भने आखिर जहाँसुकैको जोसुकै विद्यार्थीले राम्रो गर्यो भने देशलाई नै फाइदा हुन्छ। संसारको जुनसुकै विद्यार्थीले राम्रो गर्दा आखिर त्यसको फाइदा समग्र मानवलाई हुन्छ। त्यसकारण शिक्षक भनेको मानवता जन्माउने पेशा रहेछ। त्यो मौकामा हामी शिक्षक चुकिरहेका छौं। यही आशयको सेरोफेरोमा कखराका कथा उनिएका छन्।
किताब पढिरहँदा तपाईं जन्मे-हुर्केको काठमाडौंको उत्तर-पूर्वी क्षेत्र गाम्चा, तर्खगाल, सुडोलका सेटिङ बारबार आइरहन्छन्। आफ्नै जीवनबाट प्रभावित आख्यान लेख्न कत्तिको गाहो हुँदो रहेछ?
आफूले देखेको, अनुभव गरेको कुरा लेखनमा आउने नै भए। तर, आएका कुरालाई समयसापेक्ष र कलात्मक बनाउन सक्नुपर्छ। मलाई लेखाइ कौतूहलपूर्ण भयो वा भएन, बिम्ब सही भयो वा भएन भन्ने चिन्ता थियो। किनभने बालसाहित्यका छोटा छोटा रचना लेखेको भए पनि लामो लेखनीको अनुभव थिएन। विशेषगरी गीत, कवितामा केन्द्रित थिएँ।
साथीहरूले ठूलो जिम्मेवारी दिए भन्ने पनि वेलावेलामा नलागेको होइन। लेख्नु सकुँला-नसकुँला भन्ने डर पनि थियो। लेख्न सजिलो त पक्कै भएन, पहिलो खाका सकिंदा धेरै हलुका महसूस भयो।
पहिलो खाका तयार भएपछि कत्तिको परिमार्जन, परिवर्तन र थपघट भयो?
केही युवा पाठकलाई पनि पाण्डुलिपि पढ्न दिएका थियौं। त्यस्तै, १०-११ मा पढ्ने विद्यार्थीलाई पनि पढ्न दिएका थियौं। उनीहरूबाट प्राप्त सुझावलाई सम्बोधन गर्न चार-पाँच पटक पुनर्लेखन गरियो।
उपन्यासको मुख्य पात्रले आदर्श स्कूलको परिकल्पना गरेको छ र त्यसका लागि प्रयासरत छ। तपाईं पनि ‘पढाउनेले पढौं’ अभियानमा संलग्न हुनुहुन्छ। सो अभियान र ‘आदर्श शिक्षालय’ को मेल कसरी हुन्छ?
शिक्षकले पढिदियो भने धेरै समस्याको समाधान हुन्छ। पढ्ने शिक्षकको कक्षा नै अर्कै हुन्छ। पढ्ने शिक्षक मौरी जस्तो हुँदो रहेछ। मौरीले कहाँ कहाँ पुगेर फूलको रस चुसेर ल्याए जस्तै पढ्ने शिक्षकको कक्षा मधुमय हुन्छ। शिक्षकले पढिदिने हो भने कुनै पनि तालीम नै चाहिन्न। पढ्ने शिक्षक आफैं शक्तिशाली हुन्छ र समाजलाई योगदान दिन सक्छ।
एउटा विषयमा एउटा विद्यार्थीको एक वर्ष लिन्छौं। विद्यार्थी र शिक्षक पाठ्यपुस्तकमै रङमङिएका छौं। ज्ञानको दायरा सीमित भएको छ। शिक्षकले पढ्दा विद्यार्थीलाई पनि पढ्न उत्साहित बनाउँछ। त्यसैले ‘पढाउनेले पढौं’ अभियान चलाएका हौं। यसले पाठ्यक्रमको सीमित घेरा तोड्न पनि मद्दत गर्छ।
किताबको मुख्य पात्र सफल पनि पाठ्यपुस्तकभन्दा बाह्य पुस्तक पढ्न धेरै रुचाउँछ। त्यसैले तार्किक छ, सिर्जनशील पनि। आख्यान मार्फत पठनको महत्त्व दर्शाउने पनि मेरो प्रयास हो।
विकासका ठूलठूला कुरा पूर्वाधार निर्माणमा मात्र केन्द्रित छन्। पठन संस्कृति पनि विकासको सूचक हो। त्यही भएर ‘पढाउनेले पढौं’ अभियानलाई देशव्यापी बनाउन सिकाई समूहसँगको सहकार्यमा नियमित रूपमा उत्प्रेरणा र सिकाइ कार्यशाला गरिरहेका छौं।
मुख्य कुरा पढाउनेले मात्रै होइन, सबैले पढ्न जरूरी छ। अतिरिक्त पढ्ने मान्छेले केही न केही नयाँ कुरा सोच्छ। त्यही भएर नै ‘रिडर्स आर लिडर’ भनिन्छ।
पश्चिमाहरूले आफ्नो फराकिलो ज्ञानको दायराले विश्वमा दबदबा बनाए। उनीहरू धेरै पढ्छन्। त्यही भएर उनीहरू हामीमाथि हावी छन्। हामीभन्दा साना र कमजोर देशले पनि राम्रा विश्वविद्यालय चलाएर अघि बढिसके, तर हाम्रा विश्वविद्यालयको दयनीय हविगत छ। यसरी हेर्दा सबै कुरा पठनसँग जोडिने रहेछ भन्ने देखिन्छ, जसको शुरूआत एउटा ‘आदर्श विद्यालय’ बाट शुरू हुन्छ।
आदर्श स्कूल स्थापनाको अभियानमा लाग्ने मुख्य पात्र ‘सफल’ र अहिले तपाईंले भनेको कुरा एउटै आयो नि, होइन?
सफलले शिक्षा प्रणालीप्रति प्रश्न गरेको छ। विडम्बना के भने सम्पूर्ण शैक्षिक प्रणालीलाई नम्बरसँग मात्र लगेर जोडिदियौं। जाँचमा विद्यार्थीले ल्याउने अङ्क मात्र सबै थोक होइन। त्यो बाहेक धेरै महत्त्वको कुरालाई वास्ता गरेका छैनौं। मान्छेको भावनालाई केले नाप्ने? असल हो वा खराब भन्ने कसरी नाप्ने? चुनौती त्यो हो, सोच्नुपर्ने त्यता हो।
नम्बर धेरै ल्याउनासाथ असल र कम ल्याउँदा खराब भन्ने त होइन नि। मूल्याङ्कन पद्धतिलाई पनि परिवर्तन गर्न जरूरी छ। निरन्तर मूल्याङ्कन प्रणालीबारे बहस पनि भएका छन्। विद्यार्थीको व्यवहार हेरेर उसलाई मूल्याङ्कन किन नगर्ने?
फेरि यो हाम्रो मात्रै होइन, विश्वव्यापी समस्या हो। पश्चिमाले त्यही भएर पाठ्यपुस्तकविहीन कक्षा चलाइरहेका छन्। धेरै जाँच लिन नहुने रहेछ, जाँचले सिर्जनशीलता नाश हुने रहेछ भन्ने उनीहरूले बुझे। जाँचले त स्मरणको मात्र परीक्षण गर्दो रहेछ। त्यसकारण यस्तो खालको मूल्याङ्कन हटाउनुपर्दो रहेछ भनेर लागिरहेका छन्। हामीले त्यो कसरी गर्ने भन्ने चुनौती छ।
त्यसो गर्न हामीलाई गाह्रो होला नि?
गाह्रो छैन। तीनघन्टे जाँचलाई मात्र मूल्याङ्कनको आधार नबनाए त भइहाल्यो नि। कुनै विद्यार्थीले एउटा राम्रो बिरुवा उमारेर हुर्काउँछ भने त्यहाँ पनि त उसको क्षमता देखिन्छ नि। कुनै विद्यार्थीले राम्रो चित्र कोर्यो, राम्रोसँग गीत गायो भने त्यहाँ पनि त उसको क्षमता देखिन्छ नि।
समस्या त हामीले बनाएको पद्धतिले गर्दा भएको हो। अभिभावकलाई पनि नम्बर चाहिएको छ। बिगार्ने एउटा तत्त्व नम्बरको भूत हो। सबैलाई पहिलो, दोस्रो हुने विद्यार्थी चाहिएको छ। जबकि वास्तविकता त्यो होइन।
यो किताबमा गिजुभाइको दिवास्वप्न को प्रत्येक विद्यार्थी भिन्न छन्, तिनमा भिन्न क्षमता छ भन्ने भाव बारबार आइरहन्छ। हाम्रो समाजको गलत बुझाइ चाहिं के हो जस्तो लाग्छ?
प्रत्येक विद्यार्थीको क्षमताका आयाम फरक छन्। क्षमता एउटा चिजमा छ भनेर आकलन गर्यौं। त्यसैलाई मान्यौं र दिमागमा त्यही बस्यो। परिवर्तन हुन चाहेनौं। एउटा ठूलो गल्ती के हो भने आफूले पूरा गर्न नसकेको सपनाको भारी आफ्ना सन्तानलाई बोकाइदियौं। समस्याको जरो यही हो।
प्रत्येक मान्छे स्वतन्त्र छ। त्यसैले स्वतन्त्र रूपमा पढ्ने, सिक्ने वातावरण दिनुपर्छ। लादिएको ज्ञानभन्दा स्वतस्फूर्त रूपमा हासिल गर्ने ज्ञान दिगो हुन्छ। त्यस्तो वातावरण परिवार र स्कूलले मिलेर बनाउनुपर्छ।
किताबको विकल्प किताब नै हो। घरमा पढ्नलाई अतिरिक्त किताब पनि किनिदिनुपर्छ। सोच्ने दायरा फराकिलो हुन्छ। बालबालिकाको सोच्ने क्षमता फराकिलो भयो, तार्किक भए, प्रश्न गर्ने भए भने बल्ल नयाँ आयाम थपिन्छ। अहिले त प्रश्न गर्नै निषेध गरिरहेका छौं। बालबालिकाले ‘यस्तो हुन्छ भने त्यसो किन हुँदैन’ भनेर सोच्दा मात्रै नयाँ कुरा गर्न वा सिक्न सक्छन्।
अर्को, सिक्ने प्रकृतिबाट हो। किताबमा आउने कुरा पनि प्रकृतिबाटै आउने हो। तर, किताबको नजिक बनाउने निहुँमा बालबालिकालाई प्रकृतिबाट टाढा लगिरहेका छौं।
किताबको मुख्य पात्र सफल र उसका साथीहरू चरा हेर्न मन पराउँछन् र जङ्गलतिर जान्छन्, त्यही कारण घरपरिवारको खप्की पनि खान्छन्। यो सन्दर्भमा अभिभावकलाई के सुझाव छ?
बालबालिकालाई घरबाटै अनुकूल वातावरण सिर्जना गरिदियौं भने धेरै समस्याको समाधान हुन्छ। आफू मोबाइलमा भुलिने अनि सन्तानलाई चाहिं पढ भन्नु भएन। आफूले पनि सँगसँगै पढ्नुपर्छ।
हामीले एउटा राम्रो पुस्तक घरमा सबै मिलेर पढ्ने गरेका थियौं। एउटाले एउटा पाठ पढ्ने, अर्कोले अर्को पाठ पढ्ने गरेका थियौं। त्यसरी पनि अतिरिक्त पुस्तक पढाउन सकिन्छ।
शिक्षकबारे केही कुरा गरौं न। अधिकांश शिक्षक पढ्दैनन् भन्ने आरोप छ नि?
शिक्षण पेशामा लागेका मान्छेले सबैभन्दा धेरै पढ्नुपर्ने हो, तर पढ्दैनन्। कतिपय शिक्षकले पढ्नुलाई स्कूलको वा विद्यार्थीको काम ठानेका छन्। खासमा पढ्नु भनेको शिक्षकको आफ्नै काम हो। आफैं बलियो हुने हो। अध्ययनशील मान्छे कहीं पनि कहिले पनि पछि पर्दैन। जुनसुकै पेशामा होस्, अध्ययनशील मान्छे योग्य नेतृत्वकर्ता बन्न सक्छ।
शिक्षकलाई पढ्नका लागि कसरी उत्प्रेरित गर्ने त?
पहिला त शिक्षण पेशामा आकर्षण हुनुपर्छ। जति कुरा गरे पनि अहिले शिक्षणमा आकर्षण छैन। शिक्षकलाई लाग्ने गरेको आरोप के हो भने छनोटको अन्तिम तहका मान्छे शिक्षणमा आउँछन्। अन्त कतै केही नपाएपछि शिक्षक हुन आउने भन्ने आरोप छ। यसलाई चिर्नुपर्छ।
राम्रा विद्यार्थीले पनि डाक्टर, इन्जिनीयर बन्छु भन्छन्, तर शिक्षक बन्छु भन्दैनन् नि!
त्यस्तै सिकाइदिएका छौं त भनोस् कसरी? त्यति मात्रै होइन, कुनै पनि अभिभावकले आफ्ना सन्तानलाई शिक्षक बनाउन उत्प्रेरित गर्दैन। अधिकांश अभिभावक त्यसो भन्ने हिम्मत गर्दैनन्। शिक्षण सम्मानित पेशा हुन सकेको छैन।
चीनमा भने शिक्षक हुनु गर्वको कुरा हुँदो रहेछ। भारतमै पनि शिक्षकलाई सम्मान छ। विकसित देशमा त झन् हुने नै भयो।नेपालमा पनि जब शिक्षण गर्व गर्नलायक पेशा मानिन्छ, विद्यार्थीको छनोटको पेशा बन्छ, रुचिको पेशा बन्छ वा भनौं जब विद्यार्थीले ‘म शिक्षक बन्छु’ भनेर पहिलो रोजाइमा राख्छ, तब मात्र राम्रा मान्छे शिक्षणमा आउन सक्छन्। यति हुँदाहुँदै पनि जे छ त्यसैलाई पनि सुधार गर्न सकिन्छ। अहिले भएका शिक्षकले अलिकति प्रयास गर्दा मात्र पनि समाजलाई बदल्न सक्छन्।
शिक्षकहरू किन पढ्दैनन् जस्तो लाग्छ?
अधिकांश शिक्षकलाई ‘मलाई सबै थाहा छ, मैले किन पढ्ने’ भन्ने लाग्छ। अझ ‘मैले जानेको छु, भुराहरूलाई पढाउन सक्छु’ भन्ने धेरैको बुझाइ छ। त्यसो हुँदा किन किताब पढिरहने भन्ने लाग्दो रहेछ। तर, यी सबै कुरा परिवर्तन गर्नुपर्छ।
फेरि पुस्तकमै फर्कौं। झन्डै पाँच हजारभन्दा बढी पुस्तक बिक्री हुनु भनेको धेरै पाठकले पढेको सङ्केत हो। पाठकबाट कस्ता प्रतिक्रिया पाइराख्नुभएको छ?
एक जना पाठकले रातको १२ बजे फोन गरेर ‘म रुँदै तपाईंको किताब पढ्दै छु’ भन्नुभयो। सुर्खेतका एक जना प्रधानाध्यापकले साह्रै उत्प्रेरित गर्ने खालको लामो मेल लेख्नुभयो। काठमाडौंका एउटा स्कूलका प्रधानाध्यापकले पुस्तकालयका लागि किनेको प्रति यसो पल्टाउँदा पहिलो पाठले तानेपछि पूरै पढ्नुभएछ। पढिसकेर स्कूलका सबै शिक्षकलाई एक-एक प्रति किनेर पढ्न लगाउनुभएछ। त्यसपछि शिक्षकहरूले कक्षा ८ भन्दामाथिका सबै विद्यार्थीलाई पढाउनुभएछ।
पछि मलाई पनि बोलाएर एउटा अन्तरक्रिया हुँदा ‘अब यो पुस्तक अभिभावकलाई पनि पढ्न सिफारिश गर्छौं’ भन्नुभयो। एउटा लेखकलाई यस्ता घटनाले धेरै प्रेरणा दिने रहेछ। पाठकको प्रतिक्रियाले उत्साहित छु।
म शिक्षक भए पनि यसमा शिक्षकप्रति कटाक्ष छ। किताबको नायक र खलनायक दुवै शिक्षक नै हुन्। शिक्षकले आलोचना गर्लान् कि भन्ने आशङ्का थियो। तर, धेरै शिक्षक साथीबाट राम्रो प्रतिक्रिया आयो। त्यसले पनि उत्साहित बनायो।
पुस्तकको मुख्य पात्र सफलको प्रेम सरसँग आत्मीय सम्बन्ध देखिन्छ। पुस्तकको सफल जस्तै तपाईंको मन पर्ने शिक्षक कस्ता थिए?
मलाई मन पर्ने शिक्षक अलि खुला, अलि नजिक आउने, अलि संवाद गर्ने खालका थिए। जसले ‘आज पाठ नआए केही छैन, भोलि सिक्नुपर्छ’ भनेर हौस्याउनुहुन्यो त्यस्ता शिक्षक मन पर्थे। नाम नै लिनुपर्दा बाबुराम सापकोटा, भीमसेन थापा, रामनाथ तिमिल्सिना, श्रवणकुमार प्रजापति सरहरूमा अलिकति फरकपन थियो। उहाँहरूसँग डर लाग्थ्यो, तर पनि प्रेमपूर्ण सम्बन्ध थियो।
तपाईंलाई मन पर्ने लेखक वा पुस्तक कुन कुन हुन्?
मदनमणि दीक्षितको माधवी मैले धेरै पटक पढेको छु। त्यस्तै, ध्रुवचन्द्र गौतम, पारिजातका कथा, उपन्यास मन पर्छन्। कवितामा लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल लगायत मन पर्छन्।
किताबका कुराका थप सामग्री: