माइतीघरमा छोरीका लागि न्याय खोजिरहेकी आमा
जेठ ३२ गते प्रहरीले पूरै परिवारलाई नै निर्घात कुटपिट गरेको मनीषाका मामा सन्तोष बताउँछन्। सन्तोषका अनुसार प्रहरीले खुट्टा ढोग्न लगाएर कतै उजुरी नगर्ने शर्तमा छोडेको थियो। कुटपिटबाट बेहोस भएकी मनीषालाई मोजा सुँघाएको पनि उनले बताए।
माइतीघर मण्डलमा सडकको एउटा कुनामा एउटी महिला एक महीनादेखि धर्नामा छिन्। कहिले झरी, कहिले टन्टलापुर घाम त कहिले सवारी साधनको चर्को ध्वनिले उनलाई बिथोलिरहन्छ। घरीघरी एकोहोरो बरबराइरहन्छिन् उनी, तर प्रस्ट बुझिंदैन।
कसैले केही सोध्यो कि भक्कानिन्छिन्। परिवारका सदस्यले थुमथुम्याएपछि आर्तनाद कम त हुन्छ, तर आँसु रोकिंदैन।
बटुवाहरू उनको विचलित अवस्था देखेर पनि नदेखे झैं गर्छन्। कोही चाहिं उनलाई हेरेर ‘बिचरी’ भन्दै अघि बढ्छन्। कोही-कोही चाहिं एकछिन अडिन्छन्। उनलाई त्यहाँ बस्नुको कारण सोध्छन्, अनि हिंड्ने वेला धर्नास्थलमा राखिएको ‘डोनेशन बक्स’ मा केही पैसा खसाल्छन्।
उनी, धनुषाको नगराइन-८, खिरखिरियाकी निर्मलादेवी साह, २९ दिन भयो माइतीघरको सडकमा रोजिन्दा यसैगरी बसेकी। दाइजो नदिएको निहुँमा ज्वाइँको परिवारले आफ्नो २५ वर्षीया छोरी आरती साहको हत्या गरेको निर्मलादेवीको आरोप छ। सोही घटनामा निष्पक्ष छानबिन हुनुपर्ने उनको माग छ।
निर्मलादेवी दिनभर सडकमै हुन्छिन्। जब रात पर्छ, त्यहीं छेउमा बनाएको त्रिपालको छाप्रोमा सुत्छिन्। निद्रा पर्दैन, अनि छटपटिंदै बिहानीको बाटो हेर्छिन्।
उनका साथमा श्रीमान् विनोदप्रसाद साह, भाइ सन्तोष कुमार, छोरा धीरज, छोरी मनीषा लगायत छन्। परिवारै २९ दिनदेखि निर्मलासँगै सडकमै छन्।
यसबीचमा उनीहरूलाई घटनाबारे दर्जनौंले सोधिसके। सोध्नेहरूलाई भन्दा भन्दा निर्मलादेवी थाकिसकिन्। छोरीमाथि भएको घटना सम्झिएपिच्छे उनको शरीर काँप्छ। निर्मलाका गला अवरुद्ध भएका वेला विनोदले पालो दिन्थे, अब त उनको अवस्था पनि उस्तै भइसक्यो।
अहिले घटनाबारे जिज्ञासा राख्नेहरूलाई आरतीका मामा सन्तोष कुमारले बेलीविस्तार लगाउँछन्।
हत्या कि आत्महत्या?
स्नातक तहमा पढ्दै गरेकी आरतीको घरमा बिहेको कुरा चल्यो। जनकपुरधाम-९, थापाचोक घर भएका मदनमोहन साहले आफ्ना छोरा मोतीबाबुका लागि आरतीको हात मागे।
दुवै परिवारबीच कुरा छिनोफानो भयो। केही दिनपछि ‘इन्गेजमेन्ट’ भयो।
तर, बिहेको दिन नजिकिंदै गएपछि केटा पक्षले बहानाबाजी गर्न थाल्यो। इन्गेजमेन्ट हुँदासम्म दाइजोको कुरै नगरेको केटा पक्षले अब त आफ्नोतिरको बिहेको खर्च पनि बेहोर्नुपर्ने भन्दै बखेडा गर्यो।
हुनेवाला ज्वाइँ इन्जिनीयर थिए, आरतीको परिवारले छोरीको खुशीका लागि केटा पक्षको बखेडा पनि स्विकार्यो। २५ लाख ऋण गरेर केटा पक्षको खर्च बेहोर्यो।
बिहे भयो। केही समय सम्बन्ध राम्रै चल्यो। तर, वर्षदिनपछि भने दाइजोको निहुँमा मोतीबाबुले तनाव दिएको भन्दै आरती माइती फर्किन थालिन्। गत वैशाखमा पनि मोटरसाइकल र दराज माग्दै ससुराले कुटपिट गरेको बिलौना गर्दै उनी माइती पुगेकी थिइन्।
छोरीको दु:ख सहन नसकेर निर्मला र विनोदले मागे बमोजिम दाइजो दिने तयारी पनि गरे। यसबीच आरतीका श्रीमान् आएर ‘अब दुःख नदिने’ भन्दै १५ दिनपछि आरतीलाई माइतीबाट आफ्नो घर लिएर गए।
त्यसको १० दिनपछि, जेठ ७ गते साँझ ६ बजेर २० मिनेटमा विनोदलाई सम्धी मदनमोहनको फोन आयो। “आरती बेहोस भएर जनकपुरको काव्या अस्पताल लगेर उपचार भइरहेको छ,” मदनमोहनले फोनमा भने।
विनोदले आत्तिंदै जनकपुर बसेर पढिरहेकी कान्छी छोरी मनीषालाई फोन गरे। तत्कालै अस्पताल जानू भने। विनोद पनि निर्मलालाई लिएर टेम्पो चढेर अस्पताल पुगे।
उनीहरू अस्पताल पुग्दा आरतीको शरीरमा सास थिएन। आरतीका श्रीमान्को परिवार भेला भइसकेको थियो। उनीहरू शव धेरै उजागर नहोस् भन्ने चाहन्थे। किनकि, आरतीको शरीरभरि निलडाम थियो। टाउको र निधारमा खत पनि देखिएको थियो।
छोरीको मृत शरीर, त्यसमाथि हिंसापीडित। यस्तो देखेपछि विनोदको परिवार सम्हालिन सकेन। अस्पतालमै दुई परिवारबीच भनाभन भयो। तनावको स्थिति सिर्जना भयो। प्रहरी पनि आए। सोधपुछ शुरू भयो।
आरतीका श्रीमान्को परिवारले उनले आत्महत्या गरेको बयान दियो। माइतीपक्षले दाइजोको निहुँमा हत्या भएको सुनायो।
सोही दिन आरतीका श्रीमान्, सासू, ससुरा र देवरलाई किटान गरी माइती पक्षले ज्यान मार्ने उद्योगमा जाहेरी दिन खोज्यो। प्रहरीले पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै जाहेरी दर्ता गर्ने अडान राख्यो। भोलिपल्ट दिउँसो १ बजे पोस्टमार्टम रिपोर्ट आयो। तर, प्रहरीले ज्यान मार्ने उद्योगमा जाहेरी लिन मानेन।
प्रहरीको सुझाव थियो- ज्यान मार्ने उद्योगमा होइन, आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गर्नुस्।
आरतीको माइती पक्षले हत्याकै आशङ्का गर्नुको आधार शरीरको चोट मात्रै होइन, पोस्टमार्टम रिपोर्ट पनि हो। पोस्टमार्टम रिपोर्टमा आरती झुन्डिएको र त्यो आत्महत्या हुन सक्ने उल्लेख छ। रिपोर्टमा गालामा रहेको चोट भित्री भागसम्म भएको पनि लेखिएको छ। तर, शरीरका अन्य भागको चोटबारे केही उल्लेख छैन।
यस्तै, श्रीमान् पक्षले प्रहरीलाई दिएको बयान र पोस्टमार्टम रिपोर्टको तथ्य पनि मेल खाँदैन। प्रहरी बयानमा श्रीमान् पक्षले जेठ ७ गते साँझ ५:१५ बजे झुन्डिएको भेटेको भनेको छ। तर, पोस्टमार्टम रिपोर्टमा २४ देखि ३६ घण्टाभित्रमा अर्थात् बयानमा भनिएको भन्दा लगभग १२ घण्टाअघि नै आरतीको मृत्यु भएको देखिन्छ।
आरतीका मामा प्रहरीले पीडकको प्रभावमा परेर घटनालाई सामसुम पार्न खोजेको बताउँछ्न्। सोही कारण प्रहरीले पटक पटक आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउन दबाब दिएको उनको भनाइ छ।
“प्रहरीले पीडकलाई बचाउन हामीलाई असहयोग गर्यो,” उनले भने।
प्रहरीको जोडबल आत्महत्या दुरुत्साहनमै
आरतीको माइती पक्ष जाहेरीका लागि कसरत गर्दै थिए, त्यही वेला मोतीबाबुले अस्पतालबाट शव सीधै घाटमा पुर्याए। शव लगेको थाहा पाएपछि आरतीको माइती पक्ष पनि घाटमा पुग्यो। शव फिर्ता ल्यायो। प्रहरीले जाहेरी नलिएसम्म दाहसंस्कार नगर्ने अडान लियो।
जिल्ला प्रहरी कार्यालय, धनुषा अगाडि शव राखेर आन्दोलन गर्दै जाहेरी लिन पनि दबाब दियो। तर, प्रहरीले जाहेरी लिनै मानेन। त्यसपछि उनीहरूले आरतीको सासू, ससुरा, श्रीमान् र देवरको नाममा हुलाक मार्फत किटानी जाहेरी दिए।
प्रहरीले अब चाहिं जाहेरी त लियो, तर श्रीमान् र ससुराको नाममा मात्र। यति भए पनि भयो भन्दै आरतीको अन्तिम संस्कार पनि गरियो।
प्रहरीले निष्पक्ष छानबिन गर्ला भनेर शोकमा रहेको निर्मलादेवीको परिवार केही समय चूप रह्यो। प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालय, धनुषामा पठाउनुअघि जेठ ३२ गते दुवै परिवारलाई बोलाएको थियो।
त्यहाँ पुग्दा त आत्महत्या दुरुत्साहनमै मुद्दा चलाउने तयारी भएको उनीहरूले थाहा पाए। प्रतिवेदन मान्य नभएको भन्दै माइती पक्षले हस्ताक्षर गरेन।
प्रहरीसँगै विवाद भयो। विवाद बढ्दै गयो। आरतीकी बहिनी मनीषाले मोबाइल झिकेर भिडिओ खिच्न थालिन्, प्रहरीले मोबाइल खोस्यो। मनीषालाई दुर्व्यवहार गर्यो।
आमासँगै माइतीघरमा धर्नास्थलमा बसेकी मनीषालाई त्यो घटना सम्झँदा अझै आङ जिरिङ्ग हुन्छ। त्यस दिन प्रहरीले मोबाइल खोसेर आफूलाई कुटपिट गरेको उनको भनाइ छ। उनका अनुसार, शुरूमा विवाद भएको कोठामा सीसीटीभी भएकाले डीएसपी वेदप्रसाद गौतमले अर्कै कोठामा लगेर कुटे। “घाँटीमा समाते, पेटमा लात्तीले हान्दा मेरो ब्लीडिङ पनि भयो,” मनीषाले गहभरि आँसु पार्दै भनिन्।
त्यो दिन प्रहरीले पूरै परिवारलाई नै निर्घात कुटपिट गरेको मनीषाका मामा सन्तोष बताउँछन्। सन्तोषका अनुसार प्रहरीले खुट्टा ढोग्न लगाएर कतै उजुरी नगर्ने शर्तमा छोडेको थियो। कुटपिटबाट बेहोस भएकी मनीषालाई मोजा सुँघाएको पनि उनले बताए।
प्रहरीको कुटपिटबाट घाइते भएपछि उनीहरू सीधै अस्पताल पुगेका थिए। भोलिपल्ट बिहान ११ बजे अस्पतालबाट ‘डिस्चार्ज’ भए। अनि सोझै उनीहरू काठमाडौं हानिए।
“जनकपुर बस्न असुरक्षित भएकाले निष्पक्ष छानबिनको माग गर्दै सोही दिन काठमाडौं आयौं,” सन्तोषले भने।
काठमाडौं आएदेखि उनीहरू माइतीघरको सडकमा आरतीका लागि न्याय खोजिरहेका छन्। आरतीका श्रीमान् मोतीबाबु, ससुरा मदनमोहन, सासू रेनुदेवी र देवर रविमाथि अनुसन्धान गरी कारबाही अगाडि बढाउनुपर्ने उनीहरूको माग छ।
त्यस्तै, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले घटनाको अनुसन्धान गर्नुपर्ने, पीडित परिवारलाई कुटपिट गर्ने धनुषाका एसपी विश्वराज खड्का र डीएसपी वेदप्रसाद गौतमलाई तत्काल निलम्बन गरी कारबाही गर्नुपर्ने, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने जस्ता माग पनि उनीहरूको छ।
आरतीको मामा सन्तोष हत्या भएको घटनालाई आत्महत्या दुरुत्साहन भनी मुद्दा कमजोर पार्न खोजेको भन्दै गृह मन्त्रालय, मधेशी आयोग, मानव अधिकार आयोग, महान्यायाधिवक्ताको कार्यालय, राष्ट्रिय महिला आयोगमा समेत ध्यानाकर्षण गराइसकेको बताउँछन्।
हाल धनुषा जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको एकल इजलासले आरतीका श्रीमान् मोतीबाबु र ससुरा मदनमोहनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। घटना सम्बन्धमा काठमाडौंबाट गएको सीआईबीको टोलीले पनि अनुसन्धान गरिरहेको छ।
धनुषाका एसपी विश्वराज खड्का पीडक भनिएको परिवारका सबै सदस्य विरुद्ध जाहेरी लिंदा निर्दोष पनि पर्न सक्ने भएकाले शुरूमै बाबु र छोरा बाहेकको जाहेरी नलिएको बताउँछन्। पीडित परिवारले रिस उठेको जति सबैलाई जेल हाल्ने माग राखेकाले शुरूमा विवाद भएको उनको भनाइ छ।
“हामीले अनुसन्धानबाट दोषी देखिएकालाई अदालतमा मुद्दा दर्ता गरेका छौं। दुई जना पुर्पक्षका लागि थुनामा छन् भने कसरी प्रहरीले पीडितलाई सहयोग गरेन भन्न मिल्छ?” एसपी खड्काले भने।