बाजेको कुटाइबाट दुई वर्षीय नातिको मृत्यु
आमा र हजुरआमा घाँस काट्न गएका वेला बाजे गणेशले दुवै जनालाई कुटपिट गरेका हुन्।
बैतडीमा बाजेको कुटाइबाट नातिको मृत्यु भएको छ। पुर्चौडी नगरपालिका-६, मुडेलीधारमा ५० वर्षीय गणेश साउदको कुटाइबाट दुई वर्षीय नाति रेशम साउदको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार कुटाइबाट गम्भीर घाइते रेशमको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा आज बिहान मृत्यु भएको हो।
बाजे गणेशकै कुटाइबाट आठ वर्षीय नाति रिजन साउद भने गम्भीर घाइते छन्। कैलालीको धनगढीस्थित नवजीवन अस्पतालको आईसीयूमा उनको उपचार हुँदै छ।
बिहीबार रेशम र रिजनकी आमा र हजुरआमा घाँस काट्न गएका वेला बाजे गणेशले दुवै नातिलाई कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिट गर्ने गणेशलाई प्रहरीले पक्राउ गरेको छ।
उनी विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक जोशीले बताए।कुटपिटको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।
रिजन र रेशमका बुबा कामको सिलसिलामा धनगढीमा छन्। -रासस