नारायणगढ-मुग्लिन सडकखण्डमा बस खस्दा १९ यात्रु घाइते
४० यात्रु सवार बस आज बिहान ५:२० मा दुर्घटनामा परेको हो।
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन्। सडकखण्डको भरतपुर महानगरपालिका–२९, दासढुंगामा बागमती प्रदेश-०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस आज बिहान ५:२० बजे दुर्घटनामा परेको हो।
काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेर रूखमा अड्किएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। बसमा ४० यात्रु सवार थिए।
घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा र आठ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। एक जना घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।