अन्तर्राष्ट्रिय खेलमा बाङ्लादेशसँग नेपालको बराबरी
अन्तिम समयमा सावित्रा भण्डारीले गोल गरेपछि नेपालले बाङ्लादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा रोकेको छ।
ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा रङ्गशालामा बिहीबार भएको पहिलो खेलमा नेपाल र बाङ्लादेशले १–१ गोलको बराबरी खेलेका हुन्।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो। दोस्रो हाफको शुरूआतमा पनि नेपालले बाङ्लादेशलाई दबाबमा राखेको थियो।
खेलको ६५औं मिनेटमा बाङ्लादेशले अग्रता लिएको थियो। बाङ्लादेशका लागि कप्तान सबिना खातुनले गोल गरेकी थिइन्।
त्यसपछि बाङ्लादेशले नेपालमाथि दबाब बनाएको थियो। नेपालले पटक पटक गोल फर्काउने प्रयास गरेको थियो।
खेल सकिनै लाग्दा भण्डारीले नेपालका लागि गोल गरेकी हुन्। इन्जुरी समयमा गरेको भण्डारीको गोलले पहिलो खेल बराबरीमा रोकेको हो।
मैत्रीपूर्ण प्रतिस्पर्धा अन्तर्गत नेपालले दोस्रो खेलमा आइतबार बाङ्लादेशसँग प्रतिस्पर्धा गर्नेछ।