नेपालमा रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययन गर्न जर्मन कम्पनीसँग समझदारी
नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न सरकारले जर्मनीको एक कम्पनीसँग समझदारी गरेको छ।
लगानी बोर्डले रासायनिक मल कारखानाको विस्तृत सम्भाव्यता अध्ययनका लागि जर्मन कम्पनी डीआईएजी इन्ड्रस्ट्रिजसँग समझदारी गरेको हो। समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डीआईएजी कम्पनीका प्रबन्ध निर्देशक बेन्ज्यामिन बेकरले हस्ताक्षर गरेका छन्।
जर्मन कम्पनी डीआईएजीले नेपालमा रासायनिक मल (युरिया) उत्पादन गर्ने कारखाना स्थापनाको प्रस्ताव यसअघि नै लगानी बोर्डमा बुझाएको थियो। यो कम्पनीले प्राकृतिक ग्यास, इलेक्ट्रोलाइसिस वा हाइब्रिड विधि मार्फत उपयुक्त प्रविधि प्रयोग गरी नेपालमा वार्षिक सात लाख मेट्रिक टन रासायनिक मल उत्पादनको प्रस्ताव गरेको थियो। उल्लिखित प्रविधि र क्षमताको रासायनिक मल कारखाना स्थापनाका लागि ७१ करोड ४० लाख अमेरिकी डलर (करीब ९३ अर्ब) लागतको अनुमान गरिएको छ।
लगानी बोर्डको बैठकले २०७८ चैतमा यो कम्पनीको प्रस्तावलाई अनुमोदन गरेको थियो। त्यसैगरी गत चैतमा यो कम्पनीसँग विस्तृत सम्भाव्यता अध्ययन गर्न समझदारी गर्ने बोर्ड बैठकले निर्णय गरेको थियो।
जर्मन कम्पनीले दुई वर्षभित्र नेपालमा रासायनिक मल कारखानाको विस्तृत सम्भाव्यताको अध्ययन गरी लगानी बोर्डमा प्रतिवेदन बुझाउने शर्त तोकिएको छ।
आर्थिक वर्ष २०८०/८१ को बजेटले नेपालमा सार्वजनिक-निजी साझेदारीमा मल कारखाना स्थापना सम्बन्धी विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने उल्लेख गरेको छ। नेपालमा रासायनिक मल कारखाना स्थापनाको विषयमा लामो समयदेखि छलफल चलिरहेको छ।