लम्पी स्किनबाट पशु मरेका कृषकलाई क्षतिपूर्ति दिने कानून छैन: कृषिमन्त्री भुसाल
कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले लम्पी स्किनबाट पीडित कृषकलाई राहत वा क्षतिपूर्ति दिने कानून नभएको बताएका छन्।
बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री भुसालले राहत वा क्षतिपूर्तिभन्दा पनि लम्पी स्किनबाट क्षति कम गराउन ध्यान केन्द्रित गर्नुपर्ने बताए।
“संक्रमित पशुलाई आउने उच्च ज्वरो कम गर्ने, गिर्खामा मलम लगाउने र दानापानी खुवाउने हो,” मन्त्री भुसालले सांसदहरूको प्रश्नको जवाफ दिंदै भने, “संक्रमण नभएका पशुलाई भ्याक्सिन लगाउने हो।”
सरकारले जोर्डन, तान्जनिया र टर्कीबाट १२ लाखभन्दा बढी डोज भ्याक्सिन आयात गरेको मन्त्री भुसालले जानकारी दिए। उनका अनुसार त्यसमध्ये दुई लाख ५० हजार ७६६ पशुलाई खोप दिइएको छ।
अहिलेसम्म सात लाख ८२ हजार १८४ पशु संक्रमित भइसकेको र २८ हजार एक पशु मरेकाे पनि मन्त्रीले सदनमा जानकारी गराए। नेपालमा २०७७ सालमा पहिलो पटक यो रोग देखिएको थियो।