नक्कली भूटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ
नक्कली भूटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले फरार केशव तुलाधरलाई काठमाडौंको स्वयम्भूबाट असार २७ मा पक्राउ गरेको जनाएको छ। यो प्रकरणमा पूर्व मन्त्री टोपबहादुर रायमाझी, बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे सहित १६ जना पुर्पक्षका लागि थुनामा छन् भने दुई जना धरौटीमा रिहा भएका छन्।
यो प्रकरणमा ३० जनालाई अभियुक्त बनाइएकोमा अझै १० जना फरार छन्। नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै देशभरबाट रकम असुल्ने यो योजनामा राज्य संयन्त्र नै प्रयोग भएको थियो।
जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दामा २८ करोड ८१ लाख ७४ हजार ५०० रुपैयाँ बिगो सहित ठगी, संगठित अपराध, लिखत कीर्ते, राष्ट्रहित प्रतिकूलको कसूर र एकीकृत कसूर लगाइएको छ। पुर्पक्षका लागि थुनामा पठाइएकाहरूले बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग सहित उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन्।