बीआरआई कार्यान्वयनमा छलफल भइरहेको छ: परराष्ट्र मन्त्री
चीनसँग सन् २०१७ मा सम्झौता भएको बेल्ट एन्ड रोड परियोजना (बीआरआई)को कार्यान्वयनबारे छलफल भइरहेको सरकारले जनाएको छ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै परराष्ट्र मन्त्री एनपी साउदले भने, “दुई देशबीच बीआरआई कार्यान्वयन योजनामा छलफल जारी छ।” नेपाल र चीनबीच सन् २०१७ मा बीआरआई सम्बन्धी सम्झौता भएको थियो। यद्यपि बीआरआईका कुन कुन परियोजनालाई कसरी अघि बढाउने भन्ने विषयमा भने कुनै निर्णय हुन सकेको छैन।
यसअघि गत पुस १७ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका क्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले बीआरआई अन्तर्गतको परियोजना कार्यान्वयन भएको दाबी गरेका थिए। परराष्ट्र मन्त्री साउदले भने यसअघि पनि बीआरआईको कुनै पनि परियोजना अघि बढ्न नसकेको बताए।
चीनका तत्कालीन विदेश मन्त्री वाङ यीको मार्च २०२२ मा सम्पन्न नेपाल भ्रमणमा हस्ताक्षर भए अनुसार केरुङ-काठमाडौं रेलवेको सम्भाव्यता अध्ययन तथा दुई देशबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइनको सम्भाव्यता अध्ययन भइहेको पनि परराष्ट्र मन्त्री साउदले बताए।
उनले गुण र दोषका आधारमा अन्तर्राष्ट्रिय सम्बन्धमा स्वतन्त्र धारणा बनाउने नेपालको कूटनीतिक प्रयास भएको उल्लेख गरे। उनले भने, “गुण र दोषका आधारमा अन्तर्राष्ट्रिय मुद्दामा स्वतन्त्र धारणा बनाउने, मतदान गर्ने तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई न्यायपूर्ण, निष्पक्ष, उत्तरदायी र सहयोगात्मक बनाउने दिशामा नेपालको कूटनीतिक प्रयास उन्मुख छ।”
राष्ट्रिय सभामा विनियोजन विधेयक, २०६० अन्तर्गत परराष्ट्र मन्त्रालय एवम् मातहतका निकायका लागि विनियोजन गरिएको बजेट तथा कार्यक्रममाथि भएको छलफलका क्रममा पूर्व परराष्ट्र मन्त्री विमला पौड्याल राईले नेपाल असंलग्न परराष्ट्र नीतिबाट विचलित भएको हो कि भन्ने जिज्ञासा राखेकी थिइन्।
सांसदका प्रश्नको जवाफ दिंदै मन्त्री साउदले परराष्ट्र नीति सञ्चालनका मूलभूत आधार नेपालको संविधानले निर्दिष्ट गरेको र असंलग्नता ती आधारमध्ये प्रमुख आधार रहिआएको बताए। उनले भने, “असंलग्न परराष्ट्र नीतिको अवलम्बनतर्फ नेपालको प्रतिबद्धता अटुट रहेको स्पष्ट पार्न चाहन्छु।” -रासस