सय वर्षअघि ओलम्पिक्समा स्वर्ण जित्ने नेपाली खेलाडी खोज्दै दीपक विष्ट
सन् १९२४ को शीतकालीन ओलम्पिक्समा स्वर्ण पदक जित्ने टोलीका सदस्य तेजवीर बुढालाई चिनाउने अभियानमा लागिपरेका छन् तेक्वान्दो खेलाडी दीपक विष्ट।
केही महीनाअघि नेपाली ओलम्पियनहरूलाई संगठित गर्ने अभियानमा सहयोगको अपेक्षा गर्दै नेपाल ओलम्पियन एशोसिएशनका अध्यक्ष दीपक विष्ट व्यापारी राजेन्द्र खेतानकहाँ पुगेका थिए। खेतानले उनलाई सहयोग गर्ने वाचा त गरे नै, सँगै नयाँ सूचना पनि दिए- विकिपिडियामा सन् १९२४ मा फ्रान्समा भएको शीतकालीन ओलम्पिक्समा स्वर्ण पदक विजेता टोलीको सदस्यका रूपमा तेजवीर बुढाको पनि नाम उल्लेख भएको।
विकिपिडियामा उल्लेख छ, ‘लेस नायक तेजवीर बुढा नेपाली सेनाका अधिकारी, पर्वतारोही र ‘मिक्स्ड अल्पाइनिज्म’ मा स्वर्ण पदक विजेता थिए। सन् १९२२ को ‘ब्रिटिश माउन्ट एभरेस्ट एक्सपिडिशन’ मा सहभागी भए बापत १९२४ को शीतकालीन ओलम्पिक्समा उनले स्वर्ण पदक पाएका थिए।’
अर्थात् अल्पाइन खेलमा स्वर्ण पदक जित्ने ब्रिटिश माउन्ट एभरेस्ट एक्सपिडिशन टोलीको सदस्यको रूपमा बुढा पनि सहभागी थिए। त्यसयता तेजवीर बुढाबारे अनुसन्धानमा जुटेका हुन विष्ट।
शुरूमा त विष्टले नेपाल ओलम्पिक कमिटीमा गएर सय वर्षअघि नेपालले ओलम्पिक्समा प्रतिस्पर्धी पठाए/नपठाएकोबारे जानकारी लिन खोजे। उत्तर आयो- ‘थाहा छैन’।
त्यसपछि उनले विश्वभरिका ओलम्पियनहरूको साझा संगठन वर्ल्ड ओलम्पियन एशोसिएशन (डब्लूओए)सँग बुझे। डब्लूओएले पनि आधिकारिक रूपमा केही बताउन सकेन। हाल भ्रमणका क्रममा अमेरिकाको टेक्सासमा रहेका विष्ट भन्छन्, “केही सातापछि नेपाल फर्किएर मेरो पहिलो काम अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा बुढाबारे बुझ्ने हुनेछ।”
बारम्बार अनुरोध र ताकेता गर्दा पनि नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकूद परिषद्का अधिकारीहरूले यसबारे कुनै चासो नदेखाएको भन्दै उनी दुखेसो गर्छन्। “यो काम हामी खेलाडीहरूले नै गर्नुपर्ने रहेछ भन्ने निधोमा पुगेको छु,” विष्ट भन्छन्, “देशले चिन्नुपर्ने व्यक्तिबारे विद्यालयका पाठ्यक्रममा उल्लेख हुनुपर्छ भन्ने पनि हाम्रो आग्रह छ।”
विकिपिडियासँग पनि थप जानकारी बटुलेर नेपाली खेलाडीले ओलम्पिक्समा सहभागिता जनाएको १०० वर्ष पूरा भएको अवसरमा आगामी साल एक शताब्दी कार्यक्रम मनाउने योजना बुन्दै छन् विष्ट।
“अर्को देशको टीम सदस्यका रूपमा भए पनि एउटा नेपाली नागरिकले देशले गर्व गर्न लायकको काम गरेको कुराको राष्ट्रिय रूपमा अनुमोदन हुनुपर्छ,” तेक्वान्दोमा दुई पटक एशियाली खेलमा र चार पटक दक्षिणएशियाली खेलमा स्वर्ण पदक जितेका खेलाडी विष्ट भन्छन्, “तर सरकारी उदासीनताले देशको सर्वाधिक बेवास्तामा खेलकूद रहेको देखाउँछ।”
आधिकारिक रूपमा नेपालले सन् १९६४ देखि मात्र ओलम्पिक्समा भाग लिन थालेको हो। उक्त ओलम्पिक्समा नेपालका तर्फबाट एथ्लेटिक्समा भूपेन्द्र सिलवाल र गंगाबहादुर थापा तथा बक्सिङतर्फ नामसिंह थापा, ओम पुन, भीमबहादुर थापा र रामबहादुर गुरुङ समेत ६ जनाले भाग लिएका थिए। यीमध्ये नामसिंह र रामबहादुर जीवितै छन्।
त्यसअघि सन् १९६० को ओलम्पिक्समा भने सरकारी अधिकारीहरूले मात्र प्रतिनिधित्व गरेको रेकर्ड छ।हालसम्म ९० नेपाली खेलाडीले ओलम्पिक्समा सहभागिता जनाएका छन्। उनीहरूमध्ये ८० जना जीवित छन्।
नेपालमा सन् १९६२ मा तत्कालीन अधिराजकुमार वसुन्धरावीरविक्रम शाहको संरक्षकत्वमा पहिलो पटक नेपाल ओलम्पिक कमिटीको गठन भएको थियो।
ओलम्पियन चिनाउने अभियान
चारवर्षे कार्यकालका लागि नेपाल ओलम्पियन एशोसिएशनको अध्यक्ष चयन भएका विष्टले नेपालबाट हालसम्म ओलम्पिकमा भाग लिएका खेलाडीहरूलाई संगठित गर्ने, उनीहरूको व्यक्तिगत विवरण सङ्कलन गर्ने र उनीहरूलाई चिनाउने अभियान थालेका छन्। यसलाई उनले ‘सर्भिस टु सोसाइटी, सर्भिस टु ओलम्पियन’ मूल नारा अन्तर्गतको ‘स्कूल टु ओलम्पियन’ कार्यक्रम भनेका छन्।
कार्यक्रम अन्तर्गत हालसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा विद्यालय तहका छात्रछात्रा र खेलाडीबीचको अन्तरक्रियाको पहिलो चरण सकिएको उनी बताउँछन्। भन्छन्, “देशको झन्डा बोकेर मैदानमा मार्चपास गर्दाका अनुभवले छात्रछात्राहरूमा प्रेरणाको गहिरो छाप परेको महसूस गरेको छु।”
अरू तीन वटा प्रदेशमा खेलाडी चिनाउने कार्यक्रम चाँडै गर्ने तयारी भइरहेको पनि उनी जानकारी दिन्छन्। उनले यसबीचमा ओलम्पियनहरूको पुनर्मिलन कार्यक्रम पनि गराए। काठमाडौंमा (२०२१) र पोखरामा (२०२२) भएको कार्यक्रमले खेलाडीहरूमा बेग्लै उत्साह भरेको उनी बताउँछन्।
विष्टका अनुसार उमेर भएसँगै खेल जीवनबाट सन्न्यास लिएका धेरैजसो खेलाडीलाई अहिले गरिखानै पनि समस्या छ। त्यस्ता कतिपय खेलाडी रोजगारीका लागि खाडी र अन्य मुलुक गएको उनी बताउँछन्।
नेपालबाट ओलम्पिक्समा सहभागी भएकै कम्तीमा २० जना खेलाडी रोजगारीका लागि विदेशिएको जानकारी आफूसँग भएको दाबी गर्छन् विष्ट। “खेलाडीलाई भाषणमा देशका गहना मात्र भनेर सरकारको जिम्मेवारी पूरा हुँदैन,” उनी भन्छन्।