काठमाडौं महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि साउन २० गते परीक्षा लिने
परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान र अंग्रेजी विषयबाट ३०/३० वटा प्रश्न सोधिनेछ। यस्तै, सामान्य ज्ञानतर्फ १० वटा गरी कुल १०० वटा प्रश्न सोधिनेछ।
काठमाडाैं महानगरपालिकाले कक्षा ११ मा प्रदान गरिने छात्रवृत्तिका लागि आगामी साउन २० गते परीक्षा लिने भएको छ। यसका लागि महानगरपालिकाले आजदेखि अनलाइन आवेदन खुला गरेको छ।
महानगर अन्तर्गतको शिक्षा विभागले आज एक सूचना प्रकाशित गरी शैक्षिक सत्र २०८०/८१ का लागि छात्रवृत्तिका लागि आज बिहान १० बजेदेखि साउन १२ गतेसम्म आवेदन खुला गरेको हो।
विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानून र प्राविधिक विषयमा छात्रवृत्ति परीक्षा हुने महानगरको शिक्षा विभागले जनाएको छ। परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान र अंग्रेजी विषयबाट ३०/३० वटा प्रश्न सोधिनेछ। यस्तै, सामान्य ज्ञानतर्फ १० वटा गरी कुल १०० वटा प्रश्न सोधिनेछन्।
परीक्षामा उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अङ्क ल्याएको हुनुपर्ने व्यवस्था छ भने गलत उत्तरको लागि नेगेटिभ मार्किङ (उत्तर गलत भए अङ्क घटाउने) गरिनेछैन।
काठमाडौं महानगरपालिकाको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिने महानगरले जनाएको छ।