मनाङमा पहिलो पटक देखियो लम्पी स्किन रोग
“बिरामी गोरुले घाँस खान कम गरेको छ, ज्वरो र रोगका लक्षण अनुसारका गिर्खा देखिएको छ,” पशु चिकित्सक कुसुमले भने।
हिमाली जिल्ला मनाङको एउटा गोरुमा लम्पी स्किन रोगको लक्षण देखिएको छ। मनाङमा पहिलो पटक लम्पी स्किन रोग देखिएको हो।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका पशु चिकित्सक नारायण कुसुमले चामे गाउँपालिका-२, थानचोकका किसानले पालेको एउटा गोरुमा लम्पी स्किनको लक्षण देखिएको जानकारी दिए। उनका अनुसार गोरुलाई उच्च ज्वरो आएको छ। गोरुको शरीरभरि ससानादेखि ठूला गिर्खा देखिएका छन्।
“बिरामी गोरुले घाँस खान कम गरेको छ, ज्वरो र रोगको लक्षण अनुसारका गिर्खा देखिएको छ,” पशु चिकित्सक कुसुमले भने।
मनाङमा पाइने लुलु गाईबाट जन्मिएको गोरुमा संक्रमण देखिएको उनले बताए। उक्त गोरु होचो कदको छ।
“गोरुलाई लम्पी स्किन रोगको उपचार शुरू गरिएको छ, अन्य गाईगोरुसँग सम्पर्क नहुने गरी छुट्टै राख्ने प्रबन्ध मिलाएका छौं,” कुसुमले भने।
मनाङमा दुई हजार डोज लम्पी स्किन रोग विरुद्धको खोप ल्याइएको पनि कुसुमले जानकारी दिए। मंगलबारबाट चामे गाउँपालिकाका गाई तथा गोरुमा लम्पी स्किन रोग विरुद्धको खोप लगाउन शुरू गरिएको छ।
केही दिनपछि नासों गाउँपालिकाका किसानले पालेका पशुमा उक्त रोग विरुद्धको खोप लगाउन थालिने उनले बताए। मनाङमा गाईगोरुको संख्या एक हजार ५०० को हाराहारीमा रहेको कुसुमले बताए। -रासस