बेंसीशहर-चामे सडकखण्डमा दुई दिन यातायात अवरुद्ध हुने
दुई वर्षअघि निर्माण गरिएको काठे पुल जीर्ण भएपछि पुराना काठ हटाएर नयाँ राख्न थालिएको छ। त्यहाँ वैकल्पिक मार्ग समेत नभएकाले यातायात अवरुद्ध हुने भएको हो।
लमजुङ र मनाङ जोड्ने बेंसीशहर-चामे सडकखण्डमा दुई दिन यातायात अवरुद्ध हुने भएको छ। बेंसीशहर-चामे सडक योजना कार्यालयका इन्जिनीयर सुमन अधिकारीका अनुसार सडकखण्ड अन्तर्गत मनाङको चामे गाउँपालिका-१ तिमाङ पावरहाउस खोलाको काठे पुल र वडा नं २ स्थित स्यार्कु खोलाको काठे पुलको आजदेखि पुनर्निर्माण गरिने भएकाले यातायात अवरुद्ध हुने भएको हो।
सो स्थानमा वैकल्पिक सडक मार्ग समेत नभएकाले यातायात सेवा दुई दिन अवरुद्ध हुने उनले बताए।
अधिकारीका अनुसार उक्त स्थानमा दुई वर्षअघि काठे पुल निर्माण गरिएको थियो। हाल उक्त पुल जीर्ण भएपछि पुराना काठ हटाएर नयाँ राख्न थालिएको हो।
पुल निर्माणका लागि मंगलबारबाटै रूख काट्ने, पुलका लागि फलेक बनाउने लगायत काम भइरहेको इन्जिनीयर अधिकारीले बताए।
मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजना अनुरूप २०५१ देखि सडक डिभिजन कार्यालय, दमौली, तनहुँले बेंसीशहर-चामे सडक निर्माण अघि बढाएको थियो। २०५७ सालदेखि उक्त सडक निर्माणमा नेपाली सेना सहभागी भएको थियो। २०६९ सालमा सडक निर्माण सम्पन्न भएपछि डिभिजन कार्यालय, दमौलीलाई हस्तान्तरण गरिएको थियो।
तत्कालीन कार्य गणका इन्जिनीयर भरत श्रेष्ठ र इन्द्रवीर गुरुङको नेतृत्वमा सडक निर्माण सम्पन्न भएको हो। उक्त सडकखण्डको ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ। सडक अवरुद्ध हुँदा मनाङवासी बढी प्रभावित हुने गरेका छन्।