‘खुशी लाग्न छोड्यो वा आत्मविश्वास खस्कियो भने सोच्नुपर्ने हुन्छ’
‘पहिले रमाईरमाई गरेको काम गर्न अहिले चाख लागेन, पहिला जे कुरामा खुशी लाग्थ्यो अहिले हरायो वा आत्मविश्वास खस्कियो भने मलाई केही भयो कि भनेर सोच्नुपर्ने हुन्छ। यस्ता सङ्केत देखिनासाथ मानसिक रोग विशेषज्ञलाई भेट्नुपर्छ।’
मनोरोग पछिल्लो समय स्वास्थ्य क्षेत्रमा ठूलो चुनौती बनेको छ। खासगरी कोभिड-१९ को महामारीपछि मानसिक समस्याका बिरामी उल्लेख्य बढेका छन्। यसकै कारण आत्महत्याका घटना बढिरहेका छन्। नेपाल प्रहरीको तथ्याङ्क अनुसार बर्सेनि सात हजार हाराहारी व्यक्तिले आत्महत्या गर्ने गरेका छन् र यो सङ्ख्या बढ्दो छ। तर, यति संवेदनशील मानसिक स्वास्थ्यतर्फ समाज र राज्यले पर्याप्त ध्यान दिएको देखिंदैन।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), नेपालका लागि मानसिक स्वास्थ्य ‘फोकल पर्सन’ भएर देशका विभिन्न क्षेत्रमा काम गरेका मनोरोग विशेषज्ञ डा. ऋषभ कोइरालासँग मानसिक रोग र नेपालमा यसको अवस्थामा केन्द्रित भएर सागर बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंश:
मानसिक रोग मनबाट शुरू हुन्छ भनिन्छ। यो मनसँग मात्रै सम्बन्धित हो कि शरीरसँग पनि?
यस विषयमा धेरै अनुसन्धान भएका छन्। हामी मनोरोग भन्छौं, तर मन कहाँ छ त? त्यसैले जे छ शरीरभित्रै छ भनिन्छ। डिप्रेसन या एन्जाइटी ठीक पार्न औषधि नै खानुपर्छ। यसले शरीर र मन अन्तरसम्बन्धित हुन्छन् भन्ने बुझाउँछ। एउटाको स्थिति राम्रो नभई अर्कोको राम्रो हुन्न। यी दुईको प्रत्यक्ष सम्बन्ध नहुने भए औषधिले कसरी काम गर्थ्यो र! त्यसैले मनोरोग समग्र शरीरसँगै सम्बन्धित हुन्छ।
साइक्याट्री पश्चिमा जगत्मा विकास भएको हो, यसमा मन भन्ने शब्द नै छैन। मनलाई वर्णन गर्न पछिल्लो समय ‘हार्ट माइन’ शब्द प्रयोग गर्न थालिएको छ।
मनोरोग व्यक्तिगत समस्या हो कि यसमा सामाजिक र अन्य कारण पनि जोडिएका हुन्छन्?
शरीरमा लाग्ने कुनै रोगको मुख्य कारण थाहा हुन्छ, तर मनोरोगलाई एउटा पक्षबाट मात्र हेर्न मिल्दैन। मानसिक स्वास्थ्य समस्यामा जैविक, मनोवैज्ञानिक र सामाजिक गरी तीन वटा पाटो जोडिएका हुन्छन्।
पहिलो, जैविक पाटोमा वंशानुगत पर्छ। जस्तै, आमा-बुबालाई मानसिक समस्या थियो भने सन्तानमा पनि आउन सक्ने भयो। मेरी आमालाई एन्जाइटी थियो, ममा पनि छ। तर, वशांनुगत असर सबैमा देखिन्छ नै भन्ने हुँदैन।
दोस्रो, मनोवैज्ञानिक पक्षमा व्यक्तिको सोचविचारका कुरा पर्छन्। मानिसमा सोच्ने तरीका जन्मजात आइसकेको हुन्छ, कतिपय आनीबानी र सोचाइ चाहिं ऊ हुर्केको परिवेश, सिकाइ र जिन्दगीको उतारचढावले पनि निर्धारण गर्छ। यस्तै, कुनै घटना भएमा सहन सक्ने शक्ति व्यक्ति पिच्छे फरक हुन्छ। जस्तो कि एउटै परिवारका दुई दाजुभाइ एउटै समस्याबाट गुज्रिए भने एउटालाई कम र अर्कोलाई बढी असर पर्न सक्छ। यसलाई मनोविज्ञानमा ‘कोपिङ मेकानिज्म’ भनिन्छ।
तेस्रो, समाजमा भएका घटनाले पनि मानिसलाई मानसिक आघात पार्न सक्छ। जस्तै- भूकम्प र कोभिड-१९ को महामारीको वेला थुप्रैलाई मानसिक असरले गाँज्यो। दशवर्षे द्वन्द्वकालमा पनि धेरैले मानसिक समस्या भोगे। आर्थिक उतारचढावले पनि मानसिक स्वास्थ्यमा गडबडी निम्त्याउन सक्छ। हामी कस्तो समाजमा हुर्कियौं, जीवनलाई कसरी भोग्यौं भन्ने कुराले पनि मानसिक स्वास्थ्यमा प्रभाव पार्छन्। बाल्यकालमा भोगेको शोषण, विद्यालयमा गरिएको ‘बुलिङ’, समाजमा हुने जातीय र वर्गीय भेदभाव आदिले मानसिक रोग जन्माउँछन्।
यी तीन पक्षमध्ये कुन पक्षले मनोरोग गरायो भन्ने हेरिनुपर्छ। कसैको सन्दर्भमा एक वा दुई पक्ष कारक हुन्छ भने कसैकोमा तीन वटै पक्ष हावी हुन सक्छन्। त्यसैले मनोरोगलाई व्यक्तिगत समस्या मात्रै मान्न सकिंदैन।
कसैले आत्महत्या गरेको समाचार आउँदा उसलाई मानसिक रोग भएको पाटो पनि सँगै जोडिएर आएको देखिन्छ। के हरेक आत्महत्याको कारण मानसिक रोग नै हो?
सबैजसो घटनालाई एउटा मात्र कोणबाट हेर्नु हुँदैन। तर, हालसम्मका अधिकांश अनुसन्धानले ८० देखि ९० प्रतिशत आत्महत्याको मुख्य कारण मानसिक रोग हो भन्ने देखाएका छन्।
धेरैजसो आत्महत्या मानसिक समस्याको उपज हुँदाहुँदै पनि कतिपय यस्ता घटनालाई यो समस्याभित्र समेट्न सकिंदैन। जस्तै- आत्मघाती बम विस्फोट गरेर ज्यान लिने प्रवृत्तिलाई मनोरोगमा वर्गीकरण गर्न मिल्दैन। किनकि त्यो व्यक्तिले निश्चित वाद, सिद्धान्त र विचारधारा अन्तर्गत जे सिकाइयो त्यसलाई अन्धभक्त भएर पालना गरेको हो। यस्तै, धेरै पहिले जापानमा जीवनमा ठूलो घटना भयो भने आफ्नै ज्यान लिनुपर्छ भन्ने संस्कार थियो। त्यो रोग होइन, समाजले सिकाएको कुरा थियो।
मानसिक स्वास्थ्य समस्यालाई दुई पक्षबाट हेर्नुपर्छ। एउटा मनोरोग, दोस्रो पर्सनालिटी डिसअर्डर। दोस्रो विषय महत्त्वपूर्ण भए पनि यसबारे धेरैलाई थाहै छैन। प्रत्येक मान्छेले जीवन, भावना र तनावलाई फरक फरक तरीकाले हेर्छन्। ‘बोर्डर लाइन पर्सनालिटी डिसअर्डर’ भएका व्यक्तिहरूमा भावनात्मक उतारचढाव धेरै हुन्छ। मनोरोग नलागे पनि यस्ता मानिसले सानो घटनामै आवेगमा आएर आफैंलाई क्षति पुर्याउने सम्भावना अधिक हुन्छ। आवेगलाई पनि मानसिक स्वास्थ्य अन्तर्गत राख्न सकिन्छ।
बाहिरी जीवनशैली हेरेर कसैलाई डिप्रेसन छ भनेर थाहा हुन्न। म प्राय: अमेरिकी गायक क्रिस कर्नेलको उदाहरण दिन्छु। उनले कन्सर्टमा गाए लगत्तै होटलको कोठामा गएर आत्महत्या गरे। एकछिन अघि कन्सर्टमा खुशी भएर गाएको देख्नेहरूका लागि यो समाचार अप्रत्याशित थियो। अर्थात्, सधैं हाँसीखुशी देखिने मानिसलाई पनि डिप्रेसन हुन सक्छ। त्यो कुरा धेरैले देख्दैनन्, सँगै रहेकाहरूले पनि थाहा पाउँदैनन्।
पाँच वर्षयता दुई हजार ८४८ बालबालिकाले आत्महत्या गरेको आँकडा छ। बालबालिकाको आत्महत्यामा पनि मानसिक रोग नै कारक हो?
बाल्यकालमा पनि मानसिक रोग लाग्छ। तर, यसबारे मानिसहरूलाई खासै थाहा छैन। ५० प्रतिशत मानिसलाई १८ वर्षभन्दा कम उमेरमै मानसिक रोग शुरू हुन्छ। जसको असर उमेरसँगै बढ्दै जान्छ। बाल्यकालमा मानसिक रोग हुँदैन भन्ने सोचाइका कारण उपचारमा ध्यान दिइँदैन, यसले गर्दा जटिलता बढ्छ।
गत वर्ष माघमा इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले आत्मदाह गरेपछि त्यस्तै किसिमका घटना बढे, हालै नायक सारुक ताम्राकारले आत्महत्या गर्दा पनि केही सेलिब्रेटीले त्यही आशयका पोस्ट गरे। डब्लूएचओले मनोरोगलाई नसर्ने रोग अन्तर्गत राखे पनि आत्महत्याको प्रवृत्ति हेर्दा सरुवा जस्तो प्रवृत्ति देखिन्छ। यसलाई कसरी बुझ्ने?
यसमा भावनात्मक पक्षको भूमिका देखिन्छ। एउटा मानिसको दु:खले अर्कोलाई छुन्छ, प्रभाव पार्छ। घरमा एक जना आत्तियो भने अर्को सदस्य पनि आत्तिन्छ नि। आत्महत्याको सन्दर्भमा पनि त्यस्तै हो। कोही मानिसले आत्महत्या गरेपछि त्यसको प्रभावले अरूले आत्महत्या गर्ने प्रवृत्ति पहिलेदेखि नै थियो। अझ प्रभावशाली व्यक्तिले आत्महत्या गर्दा अरूहरूले सिको गर्छन्। यस्तो प्रवृत्ति धेरै पटक देखिएकाले कुनै प्रभावशाली व्यक्तिले आत्महत्या गरेमा धेरै सजग हुनुपर्छ। त्यो घटनालाई कसरी बाहिर ल्याउने भनेर विशेष गरी पत्रकार सचेत हुनुपर्छ।
हरेक मानिस कुनै न कुनै समस्या र दु:खमा छ। कोही प्रभावशाली मानिसले आत्महत्या गरेपछि दु:खबाट मुक्ति पाउने उपाय यही त होला भनेर आम मानिसले पनि सोच्न सक्छन्। त्यसमा पनि मनोरोग भएको मानिस जसले संसारै अँध्यारो देखिरहेको छ, ऊ त्यही बाटो ठीक हो भन्ने मनस्थितिमा पुग्छन्। त्यसैले आत्महत्याको समाचार लेख्दा पत्रकार र यस्ता घटनाबारे सामाजिक सञ्जालमा लेख्दा प्रयोगकर्ता सचेत हुनुपर्छ। तनाव र मानसिक समस्या भोगिरहेको मानिसलाई आगोमा घ्यू थप्ने गरी हैन, पाठ हुने गरी लेख्नुपर्छ।
मानिसलाई कस्तो मनोविज्ञानले आफ्नै ज्यान लिन आकर्षित गर्दो रहेछ?
डिप्रेसनले दु:खको यस्तो संसार देखाइदिन्छ कि मानिसले दु:खबाट बाहिर निस्किने बाटो नै देख्दैन। जीवन अर्थहीन महसूस गराउँछ। त्यस्तो मानिसले पीडाबाट पार पाउने एक मात्र बाटो मृत्यु देख्छ र आत्महत्या गर्छ। यस्तो घटना छिनभरमै हुन सक्छ। त्यसैले त आत्महत्याको सोच बारम्बार आउने मानिसले यसबारे अरूलाई सुनाउनुपर्छ भनिन्छ।
धेरै मानिसले जीवनको मोडमा कुनै न कुनै वेला आत्महत्या गर्ने सोचेका हुन्छन्। समस्याले मानिसमा भावनाको वेग ह्वात्तै बढाउँछ, भावनाले असह्य बनाएपछि ऊ मृत्युतिर आकर्षित भएको पाइन्छ। प्रेम सम्बन्ध हुनेहरूले सम्बन्ध अन्त्य हुँदा अब त संसार सकियो, जीवनमा कुनै खुशी रहेन भन्ने ठान्छन्, खुशी छैन भने जीवन व्यर्थ छ भन्ने सोच्न थाल्छन्। त्यस्तै वेला आवेगमा कतिपयले अप्रिय निर्णय लिन्छन्। तर, त्यो क्षणबाट जोगिएका अधिकांश मानिस फेरि प्रेममा परेर नयाँ जीवन शुरू गर्छन्।
कसैलाई मानसिक समस्या भए/नभएको कसरी थाहा पाउने?
त्यो पत्ता लगाउन निश्चित अवधि हेर्नुपर्ने हुन्छ। डिप्रेसन छ कि छैन भन्ने थाहा पाउन समस्या १४ दिनसम्म केलाउनुपर्छ। एन्जाइटीमा अझै लामो समय लाग्छ। कुन समस्या कति समयसम्म भयो भन्ने कुराले मनोरोग हो/होइन भन्ने थाहा हुन्छ। त्यसपछि लक्षण र त्यसको असरको गम्भीरता हेरिन्छ।
दैनिक जीवन सम्बन्धी र सामाजिक काममा उतारचढाव आएमा मानसिक रोगको शङ्का गर्नुपर्छ। जस्तै- कोही मानिस हिजो जुन तरीकाले काम गर्थ्यो, सोच्थ्यो र व्यवहार गर्थ्यो, उसले त्यही तरीकाले गरिरहेको छैन भने समस्या हुन सक्छ। व्यवहार पहिलेभन्दा फरक गरेको छ/छैन, त्यो फरक व्यवहारले उसको दैनिक जीवन, परिवारसँगको सम्बन्ध र आफ्नो काममा असर परेको छ/छैन विचार गर्नुपर्छ।
विद्यार्थीका लागि पढ्नु र गृहिणीको लागि घर चलाउनु काम हो। यी काम राम्रोसँग भइरहेको छैन भने आफैंलाई प्रश्न गर्नुपर्छ- के हुँदै छ, केही समस्या त भएन? पहिले रमाईरमाई गरेको काम गर्न अहिले चाख लागेन, पहिला जे कुरामा खुशी लाग्थ्यो अहिले हरायो, वा आत्मविश्वास खस्कियो भने मलाई केही भयो कि भनेर सोच्नुपर्ने हुन्छ। यस्ता सङ्केत देखिनासाथ मानसिक रोग विशेषज्ञलाई भेट्नुपर्छ।
मानसिक समस्या भएको कुनै व्यक्तिले विश्वास गरेर हामीलाई आफ्नो कुरा भन्यो भने के गर्ने, कस्तो प्रतिक्रिया दिने?
उसको कुरा सुन्दा मात्रै पनि उसलाई धेरै सहज हुन्छ। सुन्नु भनेको माया गर्नु हो। सुन्ने पनि दुई-तीन वटा तरीका हुन्छन्। सुनेर कुनै ‘रेस्पोन्स’ गरेन भने पनि सुनाउने मान्छेलाई राम्रो महसूस हुन्न। त्यसो भन्दैमा कुरा सुन्नासाथ सुझाव या उपदेश बर्साइहाल्नु हुन्न। पहिले त गम्भीर भएर उसका कुरा सुन्नुपर्छ। कुरा सुन्दै उसको मनोभाव बुझ्ने गरी ‘मैले कसरी मद्दत गर्न सक्छु, समस्या कसरी समाधान गर्न सकिन्छ’ भनेर सोध्यो भने राम्रो महसूस हुन सक्छ।
कुरा सुनेपछि ‘तपाईंलाई आत्महत्या गर्न मन लागेको छ?’ भनेर सोध्यो भने ठाडो र भद्दा हुन्छ। त्यही कुरा थाहा पाउने अन्य तरीका हुन्छ। ‘कहिलेकाहीं जीवन खल्लो लाग्छ?’ भनेर सोध्दा उसले केही न केही जवाफ दिन सक्छ। त्यस्तै, ‘कहिलेकाहीं कुनै दुर्घटना भएर जीवन सिद्धिए पनि हुन्थ्यो भन्ने लाग्छ?’ भनेर सोध्दा ‘अँ त्यस्तै लाग्छ’ भन्ने जवाफ आउन सक्छ। त्यस वेला ‘कुनै वेला आफैंले त्यस्तो गर्ने सोच्नुभाछ कि?’ भनेर सोध्दा उसले ‘सोचेको थिएँ’ भन्न सक्छ। त्यो अवस्थामा ‘आफैंले प्रयास गर्नुभएको थियो?’ भनेर सोध्न सकिन्छ। यस्तो संवेदनशील कुराका लागि अलि समय दिएर उसको मनोविज्ञान बुझ्दै कुरा गर्नुपर्छ।
उनीहरूको कुरा सुनेपछिका दिनमा उसको मनोभाव बुझ्न वेलावेला सम्पर्क वा भेटघाट गर्नुपर्छ, कस्तो छ भनेर सोध्नुपर्छ। आफूले कुरा सुन्ने र गर्न सक्ने सहयोग गर्ने त छँदै छ, त्यसपछि मनोपरामर्शमा पुर्याउनैपर्छ। एक अध्ययनले आत्महत्या गरेकामध्ये ५० प्रतिशतभन्दा बढीले आफ्नो कुरा कसै न कसैलाई भनेका हुँदा रहेछन् भन्ने देखाएको छ। त्यसैले यस्तो कुरा सुनेपछि मनोपरामर्शकहाँ पठाउनुपर्छ।
कतिपय मानिस साँझ परेपछि आफ्नो साथीहरूलाई फोन गरेर ‘आत्महत्या गर्ने विचार आएको छ’ वा ‘आत्महत्या गर्छु’ भन्छन्, यस्ता मानिसलाई के गर्ने?
खासगरी पर्सनालिटी डिसअर्डर भएका मानिसमा आत्महत्याको सोच धेरै आउँछ। यस्ता मानिस सबैले आत्महत्या नगरे पनि यो समूहका मानिसले आत्महत्या तथा आत्महत्याको प्रयास गरेका घटना धेरै छ। उनीहरूले कति वेला के गर्छन् भन्ने आकलन गर्नै सकिन्न।
त्यसैले मनोरोग विशेषज्ञकहाँ लगिहाल्नुपर्छ। उनीहरूका कुरालाई हल्का रूपमा लिएर बेवास्ता गरेमा जुनसुकै वेला गलत कदम उठाउन सक्छन्, त्यस वेला घरपरिवार र साथीभाइसँग पछुतो मात्र बाँकी रहन्छ।
आफूलाई मानसिक समस्या भएको थाहा पाएर पनि मनोचिकित्सककहाँ जानै नमान्ने, हिचकिचाउने प्रवृत्ति पनि छ नि!
मनोचिकित्सकलाई भेट्नासाथ आफूमा मनोरोगीको परिचय गाँसिन्छ भनेर धेरै मानिस जान हच्किन्छन्, तर रोग छ भने मनोचिकित्सकलाई नभेट्दैमा टरेर त जाँदैन। उपचारमा जाँदा निको हुन्छ। मनोचिकित्सककहाँ जानासाथ औषधि नै खानुपर्छ भन्ने हुँदैन।
यस्तै, मनोरोगमा जीवनभर कडा खालका औषधि खानुपर्छ र त्यसको साइड इफेक्ट हुन्छ भन्ने भ्रम पनि छ। मनोरोग लागेका सबैलाई कडा खालका औषधि चाहिन्न। यी सबै भ्रम चिर्न यस्ता मानिसलाई एक पटक विशेषज्ञकहाँ लैजानैपर्छ। किनकि बिरामीलाई पनि तनाव र आत्महत्याको सोच पालेर बस्दा असाध्यै गाह्रो भइरहेको हुन्छ।
उपचारमा आएका मानिसको कुरा सुन्दासुन्दा तपाईंहरूलाई पनि मानसिक तनाव हुन्छ होला, यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ?
हो, मनोचिकित्सक तथा मनोपरामर्शदातालाई पनि मनोरोग हुन्छ। यही भएर मनोचिकित्सकले पनि आफ्नो भावना सुनाउन एक जना सुपरभाइजर राख्नुपर्ने अन्तर्राष्ट्रिय प्रावधान छ। तर, नेपालमा यस्तो किसिमको संयन्त्र राख्ने चलन छैन। पाँच वर्षयता दुई जना मनोचिकित्सकले आत्महत्या गरे। सुपरभाइजर भएको भए उनीहरूको ज्यान जोगिन्थ्यो। म आफ्नो तनाव व्यवस्थापन गर्न व्यायाम र ध्यान गर्छु।
नेपालमा मनोपरामर्शदातालाई अनुमतिपत्र दिने प्रावधान नै छैन, उनीहरूको नियमन पनि हुँदैन। यो स्थितिमा उनीहरूले काम गरिरहँदा कस्तो असर परिरहेको छ?
अनुमतिपत्र नदिने र नियमन पनि नहुने भएपछि ’मालप्राक्टिस’ (गलत अभ्यास) फस्टाउँछ। मनोरोगको उपचार गर्न योग्यता नपुगेका तर मीठो बोल्नेहरू चल्न त चल्लान्, उनीहरूकहाँ सेवाग्राहीको भीड पनि लाग्ला, तर बिरामीले राम्रो उपचार पाउँदैनन्। मीठो बोल्दैमा थेरापी र काउन्सिलिङ हुँदैन। योग्यता नपुगेका मनोपरामर्शदाताले उपचारमा थोरै मात्र गडबडी गर्दा पनि बिरामीलाई धेरै असर पर्छ। यहाँ त रोग पहिचान गर्ने क्षमता नै नभएका मानिसले उपचार गरिरहेका छन्। यसले गन्जागोल भइरहेको छ।
मनोपरामर्शको सेवा लिन जाने सेवाग्राहीले गलत अभ्यास भएको कसरी थाहा पाउने?
सामान्यतया सर्वसाधारणले परामर्शमा जाँदा परामर्श गर्नेको डिग्रीबारे सोध्न सक्छन्। मनोविज्ञानमा डिग्रीहरू धेरै हुन्छन्, त्यसैले तालीमका बारेमा पनि सोध्नुपर्छ। आफूलाई ’क्लिनिकल साइकोलोजिस्ट’ दाबी गर्नेहरू बजारमा धेरै छन्। तर, एमफिल क्लिनिकल साइकोलोजी पढेर आएकाहरू कम छन्। सामान्यतया मनोरोगको उपचारका लागि मनोचिकित्सक या क्लिनिकल साइकोलोजिस्ट नै चाहिन्छ। सामान्य किसिमका काउन्सिलिङ चाहिं स्नातकोत्तर गरेकाहरूले पनि गर्न सक्छन्।
तर, यी कुरा सेवाग्राहीले बुझ्छन् भन्ने हुँदैन। सेवाग्राहीलाई सबै थाहा नहुने भएकैले राज्यको नियमन र लाइसेन्स प्रणाली चाहिने हो। यी पाटो नहुँदा अहिले मनोपरामर्शको क्षेत्रमा भद्रगोल छ। थोरै योग्यता हुनेले त्यसभन्दा बाहिरको अभ्यास गरे। योग्यता नहुनेले पनि काम गरे। नियमन नहुने भएपछि मनपरी शुल्क उठाउन थाले।
हामी मनोचिकित्सकको त कम्तीमा नेपाल मेडिकल काउन्सिलको दर्ता नम्बर हुन्छ, कहाँबाट कति पढेको भनेर लेखिएको हुन्छ। केही गलत उपचार भयो भने कारबाही गर्ने काउन्सिल छ। बिरामीले हामी विरुद्ध उजुरी पनि गर्न मिल्छ। तर, मनोपरामर्शदाता दाबी गर्नेहरूका बारेमा यी केही पनि व्यवस्था छैनन्। त्यसैले मानसिक स्वास्थ्यमा काम गर्ने जनशक्तिलाई नियमन गर्न अत्यावश्यक भइसक्यो।
राज्यले नियमन गर्न नसक्नुको कारण चाहिं के हो?
नेपाल मेडिकल काउन्सिलमा साइकोलोजी विधा राखिएको छैन। त्रिवि शिक्षण अस्पताल महाराजगन्ज क्याम्पसमा क्लिनिकल साइकोलोजी र त्रिविमा काउन्सिलिङ साइकोलोजी पढाइ हुन्छ। तर, यी निकाय अनुमतिपत्र दिने काम हाम्रो होइन भनेर पन्छिएका छन्। यस्तो संवेदनशील कुरामा स्वास्थ्य मन्त्रालय पनि मौन छ। यो सबै हेर्दा राज्यले ठूलो दुर्घटना कुरिरहेको जस्तो देखिन्छ।