रहेनन् प्रसिद्ध लेखक मिलान कुन्देरा
चेक गणतन्त्रमा जन्मिएका द अनबियरेबल लाइट्नेस अफ बिइङ उपन्यासका लेखक मिलान कुन्देरा रहेनन्।
झन्डै पाँच दशकदेखि फ्रान्सको पेरिसमा बसिरहेका कुन्देराको ९४ वर्षको उमेरमा निधन भएको छ। फ्रान्समा उनको प्रकाशन संस्थाका प्रवक्ता ग्यालीमर्डले ‘लामो रोगबाट थलिएर’ उनको निधन भएको पुष्टि गरेकी छन्।
सन् १९६७ मा पहिलो उपन्यास द जोक प्रकाशन गरेर लेखनको दुनियाँमा चर्चित बनेका कुन्देराले सन् २०१५ मा अन्तिम उपन्यास द फेस्टिभल अफ इन्सिग्निफिकेन्स लेखेका थिए। तत्कालीन चेकोस्लोभाक कम्युनिस्ट शासनको खिल्ली उडाएको भनेर उनको उपन्यास आलोचित बनेको थियो, जबकि उनी स्वयं कम्युनिस्ट पार्टीका सदस्य थिए। त्यसैकारण उनी पार्टीबाट कारवाहीमा पनि परेका थिए।
१ जुलाई १९२९ मा तत्कालीन चेकोस्लोभाकिया (हाल चेक गणतन्त्र)को ब्रनो शहरमा जन्मिएका कुन्देरा सन् १९७५ मा फ्रान्स बसाइँ सरेका थिए। सोभियत संघले चेकोस्लोभाकियामा गरेको आक्रमणको विरोध गर्दा आलोचना खेप्नुपरेपछि उनी फ्रान्स पुगेका थिए।
उनी आफ्नो पार्टी सुधार हुन सक्दैन भन्ने निष्कर्षमा पुगेपछि निर्वासित भएका थिए। त्यसको चार वर्षपछि उनको चेकोस्लोभाक नागरिकता खोसिएको थियो।
दैनन्दिनको जीवनमा अलमलिएको यथार्थ र आदर्श संसारको परिकल्पनाबीच रुमल्लिएका पात्रहरूको चित्रणका कारण प्रसिद्ध कुन्देरा लेखकहरू आफ्नो कामबाटै चिनिनुपर्छ भन्ठान्थे र कमै मात्र अन्तर्वार्ता दिन्थे।
(रोयटर्स र न्यूयोर्क टाइम्समा प्रकाशित समाचारको आधारमा)