सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय
सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको असामयिक निधनप्रति शोक व्यक्त गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेकपा (माओवादी केन्द्र)की नेतृ एवं केन्द्रीय सल्लाहकार दाहालको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो। साथै, दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरूप नेपाली सेनाको टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने समेत निर्णय गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जारी गरेको शोक वक्तव्यमा भनिएको छ, ‘संवत् २०२८ सालदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा आबद्ध रही समाज रूपान्तरणका लागि भएका सशस्त्र संघर्ष लगायतका आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी स्वर्गीय दाहालको निष्ठा, त्याग र संघर्षमय जीवनका उदाहरणीय पक्षलाई सबैले आत्मसात् गर्न सक्नु उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास नेपाल सरकारको छ।’
दाहालको आज बिहान ८ः३३ बजे ६९ वर्षको उमेरमा निधन भएको थियो। उनी लामो समयदेखि पीएसपी रोगबाट पीडित थिइन्।