मन्टेसरीको सेप्टिक ट्यांकमा डुबेर बालकको मृत्यु भएपछि तीन जना पक्राउ
सेप्टिक ट्यांकमा डुबेर नर्सरीमा अध्ययनरत आठ वर्षे तान्छोपहाङ लिम्बूको मृत्यु भएपछि प्रधानाध्यापक सहित तीन जना पक्राउ परेका हुन्।
मेचीनगर नगरपालिका-१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेसरीका प्रधानाध्यापक सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। गत सोमबार उक्त मन्टेसरीको सेप्टिक ट्यांकमा डुबेर कक्षा नर्सरीमा अध्ययनरत आठवर्षे तान्छोपहाङ लिम्बूको मृत्यु भएपछि अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार पक्राउ पर्नेमा मेचीनगर-११ का ४५ वर्षीय मनोज गुरुङ र ३५ वर्षीया रमा सुनार छन्। यस्तै, मेचीनगर–१० की २४ वर्षीया अनिसा पोखरेललाई पनि पक्राउ गरिएको छ।
मनोज गुरुङ विद्यालयका प्रधानाध्यापक तथा सहसञ्चालक हुन्। पोखरेल र सुनारले भने क्रमशः संयोजक र कर्मचारीका रूपमा काम गर्दै आएका थिए।
मन्टेसरीका अर्का सञ्चालक काठमाडौं-३१ निवासी ४२ वर्षे सुरेन रसाइली भने फरार रहेको प्रहरी नायब उपरीक्षक भारतीको भनाइ छ।
मृतक बालकका बुबा खर्कबहादुर लिम्बू र आमा मेरिना लिम्बूले यी चार जना विरुद्ध लिखित किटानी जाहेरी दिएका थिए।
गत सोमबार सेप्टिक ट्यांकमा डुबेका बालकको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको थियो। बालकको शव हाल बीएन्डसी अस्पतालमै राखिएको छ।