सीता दाहालको निधनले पार्टी, जनता र राष्ट्रलाई अपूरणीय क्षति: माओवादी केन्द्र
महासचिव देवप्रसाद गुरुङले सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण दाहालका विशेषता रहेको पनि बताएका छन्।
नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले एक शोक वक्तव्य जारी गर्दै सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको बताएका छन्। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालकी श्रीमती तथा पार्टीकी सल्लाहकार समेत रहेकी सीता दाहालको आज बिहान ८:३३ बजे नर्भिक अस्पतालमा निधन भएको थियो।
‘सीताले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति खेल्नुभएको योगदानको उच्च सम्मान गर्दै सिङ्गो पार्टी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ,’ वक्तव्यमा भनिएको छ, ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहाल लगायत सिङ्गो परिवारप्रति समवेदना व्यक्त गर्दै धैर्यधारणका लागि आम जनसमुदायमा अपील गर्दछौं।’
वक्तव्यमा दिवङ्गत दाहाल आफ्ना योगदान मार्फत चिरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहने बताइएको छ।
महासचिव गुरुङले सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण दाहालका विशेषता रहेको पनि बताएका छन्।
दाहालको जन्म विसं २०११ असार २१ गते कास्कीको हेम्जामा भएको थियो। बुबा महेश्वर पौडेल र आमा हरिकला पौडेलको कोखबाट जन्मिएकी उनले २०२६ साल पुष्पकमल दाहालसँग विवाह गरेकी थिइन्।
२०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रकी सल्लाहकार थिइन्। पार्टीको कामका लागि दाहालले पञ्चायतकालमा लामो समय भूमिगत जीवन पनि बिताइन्। २०५२ सालमा माओवादी विद्रोह शुरू भएपछि भने उनी भूमिगत राजनीतिमा सक्रिय रूपमा सहभागी भइन्।
पछिल्लो समय उनी पार्किन्सन लगायत रोगबाट पीडित थिइन्।
दाहाल दम्पतीका चार सन्तानमध्ये जेठी छोरी ज्ञानुको क्यान्सर र छोरा प्रकाशको हृदयाघातका कारण निधन भइसकेको छ। छोरी रेनु र गंगा भने राजनीतिमै सक्रिय छन्।