सडक डिभिजन कार्यालयका लेखा अधिकृत एक लाख घूस सहित पक्राउ
अख्तियारले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।
सिरहास्थित सडक डिभिजन कार्यालय, लहानका लेखा अधिकृत घूस सहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका लेखा अधिकृत पदम विनोद पोखरेललाई एक लाख रुपैयाँ घूस सहित पक्राउ गरेको हो।
अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मंगलबार साँझ कार्यालयमा छापा मारी पोखरेललाई घूस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। सडक निर्माणको अन्तिम बिल भुक्तानी दिने प्रयोजनका लागि उनले घूस मागेको पाइएको छ।
पोखरेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमक अन्तर्गत सडक डिभिजन लहानका लेखा अधिकृत हुन्। अख्तियारले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।