सबै प्रदेशमा वर्षाको सम्भावना
कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षा हुने सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले आज सबै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित छ।
यति वेला कोशी तथा मधेश प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली छ। कोशी तथा मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको समेत सम्भावना छ।
आज राति सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना छ।