ललिता निवास प्रकरणमा थप चार जना पक्राउ
ललिता निवासकाे सरकारी तथा सार्वजनिक जग्गा हिनामिना प्रकरणमा प्रहरीले २६ असारमा चार जनालाई पक्राउ गरको छ।
पक्राउ पर्नेमा भूमि व्यवस्थापन तथा अभिलेख विभागका पूर्व महानिर्देशक रुद्रप्रसाद श्रेष्ठ, पूर्व सुपरिटेन्डेन्ट इन्जिनीयर बालकृष्ण श्रेष्ठ, योगराज पौडेल र नारायणप्रसाद मिश्र छन्। पौडेल र मिश्र पनि पूर्व कर्मचारी हुन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कीर्ते सहित संगठित अपराधको कसूरमा ललिता निवासको सरकारी जग्गा व्यक्तिगत स्वामित्वमा ल्याएर किनबेच गरेको भन्दै अनुसन्धान गरिरहेको छ। यो प्रकरणमा १२ असारदेखि यता १६ जनालाई पक्राउ गरिसकेको छ।
बालकृष्ण बालुवाटारको सरकारी निवास विस्तार गर्ने फाइलमा राय दिन संलग्न रहको सीआईबीको आरोप छ। त्यति वेला उनी भौतिक योजना तथा निर्माण मन्त्रालयमा सिनियर डिभिजन इन्जिनीयर थिए। इन्जिनीयर राजेन्द्रमान श्रेष्ठले शुरू टिप्पणी उठाएको यही फाइल तहगत रूपमा सचिव, मन्त्री हुँदै मन्त्रिपरिषद्मा निर्णयार्थ पेश भएको थियो।