पत्रकार अर्यालको 'नेपाली खेलकुदको वृत्तान्त' सार्वजनिक
दुई दशकदेखि खेल पत्रकारितामा सक्रिय नवीन अर्यालले खेल क्षेत्रको इतिहासबारे लेखेको पुस्तक नेपाली खेलकुदको वृत्तान्त सार्वजनिक भएको छ।
असार २६ गते मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जितबहादुर केसी, युवा तथा खेलकूद मन्त्री डिगबहादुर लिम्बू, शरदचन्द्र शाहा मेमोरियल फाउन्डेसनकी अध्यक्ष रेणु शाहा, प्राध्यापक पी खरेल र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सार्वजनिक गरे।
पुस्तक तयार पार्दाको अनुभव सुनाउँदै लेखक अर्यालले खेल-इतिहास सम्बन्धी तथ्याङ्क जुटाउन निकै गाह्रो भएको र त्यस क्रममा भारत नयाँ दिल्लीका पुस्तकालयसम्म पुगेर अनुसन्धान गरेको बताए। नेपाली खेल क्षेत्रको ऐतिहासिक घटनाक्रम, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, खेलाडीका विविध सन्दर्भ, खेल क्षेत्रमा विभिन्न व्यक्तिको भूमिका जस्ता अनेक पाटो पुस्तकमा समेटेको उनले बताए।
“पुस्तकमा नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागितादेखि अहिलेसम्मको खेलकूद वृत्तान्त भए पनि मुख्य रूपमा राणाकालदेखि पञ्चायतकालसम्मको इतिहास समेटिएको छ,” उनले भने, “कुन समयमा के भएको थियो भनेर सिलसिलाबद्ध रूपमा पढ्न सहज हुने गरी लेखेको छु।”
नेपाली खेल क्षेत्रको इतिहास केलाउँदा विभिन्न देशसँग कूटनीतिक सम्बन्ध बलियो बनाउन खेलकूदको महत्वपूर्ण भूमिका रहेको रोचक पक्ष देखिएको समेत अर्यालले सुनाए।
प्राध्यापक खरेलले आफूले २०३० सालदेखि खेलकूद पत्रकारिता गरेको र अहिलेसम्म लेखिरहेको सुनाउँदै पुस्तकमा आफूले पनि थाहा नपाएका नयाँ विषयहरू रहेको बताए। उनले पुस्तक अब्बल रहेको टिप्पणी गरे।
खेलकूद मन्त्री लिम्बूले पुस्तकले नेपाली खेलकूदको विकास कसरी भयो भन्ने पाटो खोतल्नुका साथै खेल क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर सरकारलाई मार्गदर्शन पनि गर्ने अपेक्षा रहेको बताए। खेलकूदको विकास सरकारले मात्र गर्न नसक्ने भएकाले निजी क्षेत्र सहित सबै मिलेर प्रवर्द्धनमा जुट्नुपर्ने उनको भनाइ थियो।
शरद चन्द्र शाहा मेमोरियल फाउन्डेशनको आयोजनामा भएको कार्यक्रममा वक्ताहरूले राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्य-सचिव रहेका वेला शाहाले नेपाली खेलकूदको विकासमा गरेको योगदानबारे पनि चर्चा गरेका थिए। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले नेपाली खेलकूद आजको अवस्थामा आइपुग्नुमा शाहाले जगको काम गरेको बताए। साथै, पुस्तकबारे बोल्दै उनले खेलाडी, खेलप्रेमी पाठकलाई यसका सामग्री रोचक हुनुका साथै नेपाली खेलकूदबारे अध्ययन-अनुसन्धान गर्नेहरूलाई बलियो आधार भएको बताए।
क्रिएटिभ बुक्सले प्रकाशन गरेको पुस्तकको पातलो गाता संस्करणको मूल्य ६२५ रुपैयाँ छ।