विद्यापति पुरस्कार कोषबाट पाँच स्रष्टा सम्मानित
विभिन्न विधामा पाँच जना स्रष्टालाई विद्यापति मैथिली पुरस्कार प्रदान गरिएको छ।
विद्यापति पुरस्कार कोषले विभिन्न विधामा पाँच जना स्रष्टालाई सम्मान गरेको छ। मंगलबार कोषले विद्यापति मैथिली पुरस्कारबाट पाँच जनालाई सम्मान गरेको हो।
रु. दुई लाख राशिको भाषा साहित्य पुरस्कारबाट अयोध्यानाथ चौधरीलाई सम्मान गरिएको छ। यस्तै, रु. एक लाख राशिको अनुवाद पुरस्कार रमेशकुमार यादवलाई प्रदान गरिएको छ।
पाण्डुलिपि पुरस्कार महेन्द्रकुमार मिश्रलाई प्रदान गरिंदा कला संस्कृति पुरस्कार आभाष लाभ र वैद्यनाथ पटेललाई प्रदान गरिएको छ।
मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट स्थापित पुरस्कार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रदान गरेका थिए। मन्त्री किरातीले समारोहमा बोल्दै महाकवि विद्यापति मैथिली साहित्यको क्षेत्रमा नेपाल र भारतको सांस्कृतिक पुलका रूपमा रहेको बताए।
उनले विद्यापति मिथिला क्षेत्रमा जन्मेको र हाल सो स्थान भारतको बिहारमा रहे पनि विद्यापतिमाथि आफूहरूको पनि उत्तिकै अधिकार रहेको बताए।
“नेपालको हकमा पनि (विद्यापति) भावनात्मक प्रतीक हन्। किनभने मैथिली भाषाले नेपाल र भारतलाई मात्र प्रभावमा राखेको छैन, मधेश र पहाडलाई पनि उत्तिकै जोडेको छ। मल्लकालमा काठमाडौं उपत्यकामा मैथिली भाषाको सर्वाधिक लोकप्रिय नाटकहरू प्रस्तुत गरिन्थे। मल्ल राजाहरूले मैथिली भाषामा चर्चित चर्चित नाटकहरू पनि लेखेका छन्,” मन्त्री किरातीले भने।