लामजुरामा ठोक्किएर हेलिकोप्टर दुर्घटना
६ जनाको ज्यान जानेगरी भएको हवाई दुर्घटनाले मनसुनका क्रममा नेपालमा हुने गरेको उडानको जोखिम फेरि उजागर गरेको छ।
असार २६ मा भएको हेलिकोप्टर दुर्घटनाले मनसुनको समयमा नेपालको जोखिमपूर्ण भौगोलिक अवस्थितिमा हवाई यातायात कति खतरनाक छ भन्ने फेरि एक पटक उजागर गरेको छ।
बादलले डम्म मनसुनी आकाशमा सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एअरको एअरबस एच१२५ दुर्घटना हुँदा पाँच जना मेक्सिकन पर्यटक र एक नेपाली पाइलटको निधन भएको छ। दुर्घटनाग्रस्त हेलिकोप्टर सगरमाथाको फेदीमा ४२०० मिटरको उचाइमा रहेको लामजुरा भञ्ज्याङमा फेला परेको छ।
यसै पनि विश्वकै अग्ला हिमालहरूको बीचबाट उडान गर्नु जोखिमपूर्ण हुने गरेको छ। तर, ती दुर्गम स्थलहरूमा नेभिगेशन प्रणाली नभएकाले उड्डयन अधिकारीहरूले आँखाले हेरेको भरमा मात्र जहाज उडाउन पाइलटहरूलाई अनुमति दिने गरेका छन्। तर, दुर्घटनाको क्रम रोकिएको छैन।
लुक्ला विमानस्थलबाट ६ मिनेटको हवाई दूरीमा छ दूधकोशीकाे खाेँचमा रहेको सुर्के। मौसम प्रतिकूल भएको अवस्थामा यो स्थान हेलिकोप्टरहरूका लागि वैकल्पिक अवतरण स्थलका रूपमा प्रयोग गरिने गरिएको छ। असारको शुरूदेखि नै पूर्वी नेपालमा उच्च मनसुनी वर्षा भइरहेको थियो। र, आज बिहानको मौसम पनि प्रतिकूल थियो।
‘एच१२५’ हेलिकोप्टरहरूको ‘एएस२५० बी’ एक्युरेई मोडल अन्तर्गत पर्दछ जुन हिमाली क्षेत्रमा उद्धार गर्नकै लागि उचाइमा उड्न सक्ने गरी बनाइएको हो। मनाङ एअरसँग दुई वटा हेलिकोप्टर छन्। नेपाली सङ्केत चिह्न ‘९एन एएमभी’ दिइएको आज दुर्घटित हेलिकोप्टर सन् २०१८ मा नयाँमै खरीद गरिएको हो। हेलिकोप्टर पाइलट चेतबहादुर गुरुङले उडाएका थिए। पाँच वर्षअघि सिंगापुरको एअरबस एसेम्ब्ली प्लान्टबाट पनि उनैले यो हेलिकोप्टर उडाएर ल्याएका थिए।
आजको दुर्घटना कसरी भयो भन्ने अहिलेसम्म थाहा भएको छैन। तर, नेपालमा हुने हवाई दुर्घटनामध्ये ९० प्रतिशत चाहिं बादलले ढाकिएका पहाडहरूमा ठोक्किएर हुने गर्छ। गत ६० वर्षमा भएका हवाई दुर्घटनाका तथ्याङ्कले जेठदेखि भदौका मनसुनी महीनामा अधिकांश दुर्घटना हुने गरेको देखाउँछन्।
सन् १९६२ यता भएका ७३ वटा हवाई दुर्घटनामा ९४१ जनाको निधन भएको छ। यी दुर्घटनामध्ये कम्तीमा १० वटा हेलिकोप्टर दुर्घटना हुन् जसमा आजसम्म ७७ जनाले ज्यान गुमाएका छन्। यो सूचीमा सन् २००५ मा माओवादी लडाइँका क्रममा दुर्घटना भएको शाही नेपाली सेनाको ‘एमआई १७’ र सन् २०१८ मा तीन जनाको ज्यान जाने गरी लुक्ला विमानस्थलमा समिट एअरको ‘लेट ४१०’ हेलिकोप्टरसँग ठोक्किएको घटना समावेश छैन।
नेपालमा भएको सबैभन्दा भयानक हेलिकोप्टर दुर्घटना चाहिं सन् २००६ को हो जसमा हर्क गुरुङ लगायतका नेपालमा संरक्षणविद्, कूटनीतिज्ञ र विदेशी विज्ञहरू सहित २४ जनाको निधन भएको थियो। दुई जना रूसी पाइलटले उडाइरहेको उक्त ‘एमआई१७’ हेलिकोप्टर मनसुनकै समयमा कञ्चनजंघा हिमालनेर घुन्सामाथिको पहाडमा ठोक्किएर दुर्घटित भयो।
मनाङ एअरको हेलिकोप्टरमा यात्रारत ६ जनामध्ये पाँच जनाको शव लामजुरा भञ्ज्याङको चिहान डाँडामा फेला परेको छ। सोलुखुम्बुकी सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारीका अनुसार ती पहिचान हुने अवस्थामा छैनन्। बादलले लामजुरा ढाकिएकोले उद्दारमा गएका दुइटा हेलिकप्टरले घटना स्थलसम्म पुग्न सकेका छैनन्।
सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।
२०७९ माघ १ मा पोखरामा भएको ‘यती एअर एटीआर–७२’ पछिको सबैभन्दा भयानक दुर्घटना हो यो। पोखरा दुर्घटनामा ७२ जना यात्रु र चालक दलका चार सदस्यको निधन भएको थियो। सन् २०१६ र २०२२ मा पनि पोखरा–जोमसोम उडानका क्रममा तारा एअरका दुई वटा ट्वीनअटर विमानको प्रतिकूल मौसममा उस्तै खाले दुर्घटना भएको थियो।
विगतमा भएका अनुसन्धानले अधिकांश दुर्घटना भिजुअल फ्लाइट रुल्स (आँखाले हेरेको भरमा उडान गर्दा पालना गर्नुपर्ने नियमहरू; भीएफआर) उल्लंघन गरेका कारण भएको भन्ने गरेका छन्। प्राय: दुर्घटनामा बादल भित्र लुकेको पहाडमा ठोकिनु नै मुख्य कारण बन्ने गरेको छ। प्रायजसो चालकले उडान गर्ने रूटको मौसमको खराबीलाई बेवास्ता गर्ने गरेका छन्। र, उडानविद्हरूका अनुसार नयाँ जीपीएस र ककपिटमा जोडिएका यन्त्रहरूमा बढी निर्भर भएर पनि दुर्घटना निम्तिन्छ।
यो सामग्री नेपाली टाइम्समा पढ्न यहाँ क्लिक गर्नुहोस्