मणिपुर हिंसामा १४२ जना मारिए
भारतको उत्तर-पूर्वी राज्य मणिपुरमा पछिल्लो दुई महीनायता भएको हिंसामा परी १४२ जनाको मृत्यु भएको छ।
मणिपुरका मुख्यसचिवले भारतको सर्वोच्च अदालतमा प्रस्तुत गरेको प्रतिवेदनमा १४२ जनाको ज्यान गएको उल्लेख छ।
गत मेदेखि मणिपुरमा आगजनीका पाँच हजार घटना भएको तथा इम्फाल पूर्व र इम्फाल पश्चिमका जिल्लामा सबैभन्दा धेरैले ज्यान गुमाएको उल्लेख छ। राज्यमा शान्ति सुव्यवस्था कायम गर्न तथा स्थितिलाई नियन्त्रणमा राख्न पाँच हजार ९९५ फर्स्ट इन्फर्मेशन रिपोर्ट (एफआईआर) दायर गरिएको र ६ हजार ७४५ जनालाई हिरासतमा लिइएको मुख्यसचिवले प्रतिवेदनमा उल्लेख गरेका छन्।
स्थानीय सरकारले पनि राज्यमा शान्ति कायम गर्न अर्धसैनिक बलको १२४ कम्पनी र भारतीय सेनाको १२४ टोली परिचालन गरिएको जनाइएको छ।
गैरआदिवासी मैतेयी समुदायलाई अनुसूचित जनजातिको दर्जामा समावेश गर्ने निर्णयको विरोधमा मणिपुरमा हिंसा भड्किएको हो। -रासस