बैतडीमा लम्पी स्किन रोग नियन्त्रण बाहिर : ६४ हजार पशु संक्रमित, नौ हजार मरे
जिल्लाका ८४ वटै वडामा यो रोग फैलिसकेको छ। लेकाली चिसो हुने गाउँमा कम भए पनि अन्य गाउँमा महामारीकै रूपमा फैलिएको छ।
बैतडीमा लम्पी स्किन रोग नियन्त्रण बाहिर गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ। केन्द्रका पशु विकास अधिकृत तथा लम्पी स्किन सम्पर्क व्यक्ति डा. विशाल पाठकका अनुसार रोग नियन्त्रण बाहिर पुग्दा पनि जिल्लामा हालसम्म खोपको उपलब्धता भने हुन सकेको छैन।
जिल्लामा यो रोगबाट हालसम्म ६४ हजार १९७ घरपालुवा पशु संक्रमित भएका छन्। उक्त रोगका कारण नौ हजार २९८ पशुचौपाया मरिसकेका उनले बताए।
लम्पी स्किनका कारण बाच्छाबाच्छी, गाईगोरु र भैंसी बढी प्रभावित छन्। उनले भने, “लम्पी स्किनको संक्रमण दिनप्रतिदिन बढिरहेको भए पनि हालसम्म जिल्लामा खोपको उपलब्धता हुन सकेको छैन। प्रदेश र केन्द्र सरकारलाई खोपको उपलब्धताका लागि अनुरोध गरिसकेका छौं।”
लम्पी स्किनबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसान चिन्तित बनेका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताए। उनले भने, “जिल्लाका ८४ वटै वडामा यो रोग फैलिसकेको छ। लेकाली चिसो हुने गाउँमा कम छ। अन्य गाउँमा महामारीकै रूपमा फैलिएको छ।”
नियन्त्रणका लागि सामान्य औषधोपचार भइरहेको भए पनि नियन्त्रण हुन नसकेको उनको भनाइ छ। उनले भने, “सामान्य औषधोपचार बाहेक अन्य कुनै नियन्त्रणको उपाय छैन, सरकारी जनशक्तिबाट मात्रै यो रोग नियन्त्रण हुने अवस्था छैन। अहिले संक्रमण देखिएका पशु मर्ने क्रम झन् बढ्ने देखिन्छ।”
यो रोग नियन्त्रणका लागि सरकारी बाहेकका अन्य दक्ष जनशक्ति परिचालन गर्नुपर्ने र खोपको व्यवस्था हुनुपर्नेमा पन्तको जोड छ। उनले भने, “रोग नियन्त्रणका लागि सरकारी जनशक्तिले पुग्दैन, अन्य जनशक्ति पनि परिचालन गर्नुपर्छ। साथसाथै खोपको पनि व्यवस्था हुनुपर्ने देखिन्छ।”
गत मंसीरमा बैतडीको पाटनमा केही पशुचौपायामा यसका लक्षण देखापरेको र परीक्षण गर्दा गत फागुनमा यो रोग प्रमाणित भएको थियो। पशुचौपायामा ज्वरो आउने, सिंगान तथा र्याल बगाउने, शरीरमा गिर्खा आउने, खुर पाक्ने लगायत लक्षण देखिने गरेका छन्।
यो रोग झिंगा, मच्छर र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सबैमा अपील गरिएको छ। रोग नियन्त्रण गर्न किसानले भुसुना, कीरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने जनाइएको छ। -रासस