काठमाडौंका सार्वजनिक स्थलमा साउन १ बाट धूम्रपान र मद्यपान निषेध
काठमाडौं महानगरपालिकाका सार्वजनिक स्थानमा आगामी साउन १ गतेदेखि धूम्रपान र मद्यपान सेवन गर्न नपाइने भएको छ।
पहिलो चरणमा बानेश्वर क्षेत्रबाट निषेधको काम शुरू गर्ने भए पनि यसलाई क्रमिक रूपमा महानगरका ३२ वटै वडामा विस्तार गर्ने तयारी छ। यो अभियान महानगर र बानेश्वर व्यापार संघले संयुक्त रूपमा शुरू गर्न लागेका हुन्।
संघका अध्यक्ष नवीन लुइँटेलका अनुसार अवैध संरचना हटाउने काम पनि बानेश्वरबाट नै शुरू गरेको हुनाले धूम्रपान र मद्यपान निषेधको काम पनि सोही स्थानबाट शुरू गर्ने तयारी गरिएको हो। आजदेखि आगामी साउन १ गतेसम्म प्रचारप्रसारका काम गर्ने, त्यसपछि कडाइका साथ अभियान लागू गर्ने अध्यक्ष लुइँटेलले बताए।
सार्वजनिक स्थानमा धूम्रपान र मद्यपानको सेवन गर्दा अन्य व्यक्तिलाई पनि उत्ति नै असर गर्ने हुँदा निषेध गर्न लागिएको हो। धूम्रपान र मद्यपान सेवन गर्नेका लागि केही निश्चित स्थान तय गरिने बताइएको छ।
एक वर्षअघि पनि महानगरले सुर्तीजन्य पदार्थ सार्वजनिक स्थानमा निषेध गरेको थियो, तर त्यसको सकारात्मक प्रभावकारिता नभएको भन्दै कडाइका साथ कार्यान्वयन गर्ने गरी पुनः शुरू गर्न लागिएको जनाइएको छ।
सुर्तीजन्य पदार्थको सेवनका कारण मुखको क्यान्सर, फोक्सो, पेट, फियो आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुनुका साथै दम, दीर्घ श्वासप्रश्वास, उच्च रक्तचाप, हृदयाघात, मस्तिष्कघात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने जस्ता समस्या हुने गर्छ।
सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा वार्षिक ९२ लाख मानिसको मृत्यु हुने गरेको छ। नेपालमा पनि सुर्तीजन्य वस्तुको सेवनका कारण वार्षिक २७ हजारले अकालमा ज्यान गुमाउने गरेका छन्।