कीर्तेको आरोप लागेपछि वडाध्यक्ष फरार
कीर्ते गरेर जग्गा किनबेच गरेको आरोप लागेपछि मकवानपुरका वडाध्यक्ष सहित १० जना फरार छन्।
कागजात कीर्ते गरेर छोरा बनी अर्काको जग्गा नामसारी गरेको घटनामा संलग्न रहेको आरोप लागेका थाहा नगरपालिका-१२ का वडाध्यक्ष टीकाराम स्याङ्तान सहित १० जना फरार भएका हुन्। उनीहरू विरुद्ध जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको छ।
पक्राउ पुर्जी जारी भएपछि वडाध्यक्ष स्याङ्तान सहित वडासचिव ओब्जङबहादुर रोकाया, कार्यालय सहयोगी चन्द्रकुमार मोक्तान, कीर्तेका योजनाकार बमबहादुर गुरुङ, राजु गुरुङ, रामशरण गुरुङ, कृष्णबहादुर गुरुङ, सुकुमान स्याङ्तान, रामबहादुर स्याङ्तान र नरेश घलान फरार भएका हुन्। उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
स्याङ्जाकी उमादेवी गुरुङलाई आमा बनाएर सतराज गुरुङले जग्गा हडपेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। सतराज पक्राउ परेपछि घटना बाहिर आएको हो।
उमादेवी आमा रहेको भनी नक्कली मृत्युदर्ता, नाता प्रमाणित प्रमाणपत्र लगायत झूटा कागज तयार गरिएको पाइएको छ। त्यसपछि उमादेवीको नाममा रहेको काठमाडौंको कीर्तिपुर नगरपालिका-३ स्थित जग्गा विभिन्न व्यक्ति तथा निकायको मिलेमतोमा नामसारी गरेको फेला परेको प्रहरी वरिष्ठ उपरीक्षक मनोज केसीले बताए। जग्गा बिक्री नगर्दै प्रहरीले जानकारी पाएको केसीले बताए।
यसमा संलग्न रहेको आरोपमा मकवानपुरको थाहा नगरपालिका-१२ घर भई काठमाडौंको कपनमा बस्दै आएका सतराज गुरुङलाई पक्राउ गरिएको हो।