‘संसद् तीन दलको मात्रै होइन’
राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले संसद् तीन दलको मात्रै नभएको भन्दै आलोचना गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रमुख तीन दलको आलोचना गरेका हुन्। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले संसद्लाई बन्धक बनाएको उनीहरूको आरोप थियो।
रास्वपाका सभापति रवि लामिछानेले तीन दलका शीर्ष नेताले जे मन लाग्यो, त्यही गर्न नमिल्ने बताए। “तीन दलले संसद्लाई बन्धक बनाउन मिल्छ?” लामिछानेले प्रश्न गरे, “शीर्ष नेताको मुड चलेन भने संसद् रोकिन्छ? यो कदापि मान्य हुँदैन।”
त्यस्तै, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्मा तीन दल मात्रै नभएको बताए। लिङ्देनले भने, “यो संसद्मा केही राजनीतिक दल मात्रै छैनन्, थुप्रै छन्। निर्णायक छन्।”
उनले तीन दलका शीर्ष नेताले गरेको निर्णय मान्य नहुने बताए। “तीन नेता बसेर सबै राजनीतिक विषयमा निर्णय गर्न सक्दैनन्, ती कुरा हामीलाई मान्य हुँदैन। यहाँ कोही कसैको निर्णयको भारी बोकेर हिंड्न बाध्य छैन,” लिङ्देनले भने।
माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको संयुक्त बैठकले संसद्को अवरोध हटाउने सहमति गरेको थियो। त्यसलाई लिएर उनीहरूले विरोध गरेका हुन्।