हजयात्रीका हैरानी
ठूलो रकम बुझाएर मक्का जाने नेपाली हाजीहरूले हज समितिको अव्यवस्था र लापरवाहीका कारण हरेक वर्ष सास्ती भोगिरहँदा यसबारे छानबिन अत्यावश्यक देखिएको छ।
इस्लाम धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल हो, साउदी अरबको मक्का। हज अर्थात् मक्का तीर्थयात्राका लागि साउदी अरब सरकारले हरेक देशका लागि कोटा तोक्छ। मे २१ (जेठ ७) देखि शुरू भएको यस वर्षको हजयात्रामा लाखौं मुसलमान साउदी अरब पुगिसकेका छन्।
नेपालबाट एक हजार १९१ जना इस्लाम धर्मावलम्बी हजयात्रामा गएको गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिको आँकडा छ। हजका लागि विगत वर्षमा झैं यस पटक प्रतिव्यक्ति चार लाख ६५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको थियो।
यसरी शुल्क बुझाएर गएका हाजीहरूले आधारभूत सुविधा पाएनन्, काठमाडौंमा र साउदी अरब पुगिसकेपछि पनि अनेकौं हैरानी र कष्ट भोग्नुपरेको छ। यस्तो हुनुमा केही मात्रामा परिस्थितिजन्य समस्या र धेरै मात्रामा हज समितिको लापरवाही र व्यवस्थापकीय कमजोरी कारण देखिन्छ।
नेपाली हाजीहरूका समस्यालाई एक दशकदेखि नियाल्दै आएको अनुभवका आधारमा मैले यस लेखमा तिनका विगतदेखि हालसम्मका समस्याबारे चर्चा गर्दै छु।
समस्यासित पहिलो साक्षात्कार
नेपालबाट हजमा जान विभिन्न जिल्लाबाट काठमाडौं आउनेहरू त्रि-चन्द्र क्याम्पस नजिकैका जामे मस्जिद र काश्मीरी जामे मस्जिदमा बस्छन्। उनीहरूलाई भेट्न म सन् २०१३ मा ती मस्जिदमा पुगें। सन् २००६ मै हज गरिसकेको हुनाले मेरा लागि हज र त्यसमा हुने प्रक्रिया नौलो थिएन, तर हाजीहरूको समस्या मैले त्यसै भेटमा पहिलो पटक थाहा पाएँ।
भोलिपल्ट उडान हुने टिकट पाइसके पनि भिसा लागेर आउने पासपोर्ट (त्यस बखत पासपोर्टमै भिसा छापिएर आउँथ्यो) नपाएको, अनिवार्य लगाउनुपर्ने भ्याक्सिन नलगाइएको, साउदी अरबको मुद्रा सटही नभएको, श्रीमान्–श्रीमतीको उडान तालिका फरक फरक दिन भएको, श्रीमान् र श्रीमतीका पासपोर्टमा एक–अर्काको भिसा लगाइएको, खाना र पानीको प्रबन्ध नभएको, ट्रान्जिटमा १० देखि १४ घण्टासम्म बस्नुपर्दा आवश्यक पर्ने खानेकुरा र अन्य तयारी नगरिएको जस्ता अनेकौं समस्या हाजीहरूले सुनाए।
यी गुनासो र समस्या सुनेपछि यसबारे जानकारी गराउन हज समिति पुगें। समितिको कार्यालय सिंहदरबारभित्र गृह मन्त्रालयको भवनमा भएकाले गुनासो र समस्या लिएर जानेका लागि सहज पहुँचमा नरहेको महसूस भयो। समितिको कार्यालय पुग्दा टीठलाग्दो अवस्था देखें। दुई–तीन जना कर्मचारी मात्र थिए।
कार्यालयको सूचनापाटीमा हज समितिका १२ जना सदस्यको नाम र नम्बर थियो। तर, मैले कल गर्दा एक जना पनि उपलब्ध भएनन्। कसैको मोबाइल अफ थियो, कसैको उठेन। त्यही साँझबाट म र एक साथी मिलेर उड्न बाँकी केही हाजीलाई महत्त्वपूर्ण विषयहरूबारे मार्गदर्शन गरायौं।
लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र पनि हाजीहरूले दुःख पाएको खबर सुन्यौं। अर्को वर्षदेखि हामीले विमानस्थलभित्र पनि गएर सेवा दिनुपर्ने निधो गर्यौं।
समस्यासित थप परिचय
धेरै प्रयासपछि २०१४ मा हज समितिबाट विमानस्थलभित्र जाने पासको सिफारिश पायौं। हाजीहरूको पहिलो दिनको उडानमा परस्पर विरोधी दुई दृश्य देखें। हाजमा जानेहरूलाई बिदाइ गर्न पहिलो दिन गृहमन्त्री लगायत विभिन्न विशिष्ट व्यक्तिहरू विमानस्थलमा पुग्दा रहेछन्। मिडियाको उपस्थितिमा हाजीहरूलाई माला लगाएर बिदाइ र फोटो सेसन हुँदो रहेछ। तर, मूल ढोकाबाट हाजीहरू भित्र पस्ने बित्तिकै छुट्टै दृश्य देख्न पाइयो।
यसअघि कहिल्यै जहाज नचढेका या विमानस्थल पनि नदेखेका हाजीहरूलाई मूल ढोकाबाट भित्र पसेपछि के गर्ने भन्ने थाहा नहुँदा सुरक्षाकर्मीसँग तनाव उत्पन्न हुने, धेरैजसो हाजी तराईका देहातबाट आएको हुनाले नेपाली भाषा नबुझ्ने र सुरक्षाकर्मीको निर्देशन अनुसरण गर्न नसक्ने, ७०/७५ वर्षका वृद्धले गह्रुँगो सामान उचालेर स्क्यानर मशिनमा राख्न नसक्ने, बोर्डिङ पासका लागि जानुपर्ने ठाउँको मेसो नहुँदा विमानस्थलभित्र भौंतारिने, अध्यागमनमा गएर गर्नुपर्ने प्रक्रियाको ज्ञान नहुने आदि कारणले हाजीहरूले सास्ती पाउँदा रहेछन्।
तराईका विभिन्न भाषा बुझ्ने भएकाले पहिलो दिनको हाम्रो समन्वयबाट हाजीहरूका साथै विमानस्थलभित्रका कर्मचारी र सुरक्षाकर्मीलाई धेरै सहयोग भयो। दोस्रो दिनदेखि त हामी दुई मिनेट मात्र ढिलो हुँदा पनि सुरक्षाकर्मीले पर्खिरहेको पायौं, किनभने त्यो दुई मिनेटमै धेरै गडबडी भइसक्थ्यो।
हाम्रो दैनिक तालिका नै बनेको थियो– बिहान विमानस्थलमा हाजीहरूलाई सहजीकरण गर्ने र साँझ दुईवटै मस्जिदमा गएर अभिमुखीकरण गराउने, उनीहरूको पासपोर्ट, भिसा, टिकट जाँचेर भोलिपल्टको उडानका लागि तयार बनाउने। हामीले तराजु किनेर उनीहरूको सामान पनि तौलिन थाल्यौं। यो सबै काम गरिरहँदा कतिपय हाजीले हामीलाई हज समितिको सदस्य ठानेर समितिबाट भएका कमीकमजोरीबारे आक्रोश पोख्थे।
हाजीहरूकोे उडान अवधिभर सबैभन्दा चित्त नबुझ्ने कुरो हज समितिका सदस्यहरूको अनुपस्थिति थियो। समितिका मान्छेहरूले न हाजीलाई समयमा तालीम दिए न त विमानस्थलभित्र उनीहरूलाई मार्गदर्शन गर्न उपस्थित भए। आफ्नो जिल्लाका वा आफू निकटका मानिस जाने क्रममा लाइन छलेर अगाडि राख्न र फोटो खिच्न मात्र समितिका सदस्यहरूको उपस्थिति देखिन्थ्यो। एकाध वर्ष बाहेक यो प्रवृत्ति अहिले पनि छँदै छ।
एक पटक त समितिका एक व्यक्तिले पास पाउने ठाउँमा झगडा नै गरे। उनको गुनासो थियो- उनको मानिस जान लागेको दिन हामीले आफ्नो पास तिनका लागि किन छोडेनौं?
यसपालि पनि भद्रगोल
हज यात्राको व्यवस्थापनमा लापरवाहीका कारण विगत वर्षमा झैं यसपालि पनि हाजीहरूले सकस भोग्नुपरेको छ।
मक्का पुगेका नेपाली हाजीहरूका लागि नेपाल हज समितिले हेल्प डेस्क नराख्दा धेरै जना अलपत्र परे। कति हाजीहरू साँझसम्म हराउँदा रोएर बसे। त्यहाँको प्रहरीले उनीहरूको उद्धार गरेको थियो। यस्तै, व्यक्तिको सम्पूर्ण सूचना राख्ने क्यूआर कोड भएको हाते ट्याग (जुन लगाउन अनिवार्य छ) हाजी पुगेको २० दिनसम्म पनि धेरैले पाएका थिएनन्।
मक्कामा वासको व्यवस्था बापत हाजीहरूलाई ९८ हजार रुपैयाँ पेश्की भुक्तानी गराइएको थियो। यस्तै, हज समितिले उड्नुभन्दा १० दिन अगावै उडानतालिका सार्वजनिक गरेकाले वासको उचित प्रबन्ध हुनुपर्ने थियो। तर, त्यसमा चरम लापरवाही देखियो।
दुई दिनसम्म कोठा नपाएपछि एक पाका दम्पतीले त्यहाँको ४४/४५ डिग्री सेल्सियसको प्रचण्ड गर्मीमा होटलको बरन्डामा सुत्नुपरेको थियो। त्यस्तै, आठ जना हाजीलाई सात वटा ओछ्यान भएको एउटा कोठा दिइयो, जसका कारण एक जना २४-२५ दिनसम्म होटलको मस्जिदमा सुत्न बाध्य भए। गोपनीयताको रत्तिभर ख्याल नगरी कतिपय जोडीलाई अपरिचित पुरुषहरू भएको कोठामा सुत्ने व्यवस्था गरिएको थियो।
नेपाली हाजीहरूलाई मक्काका तीन वटा होटलमा बसाइएको थियोः होटल अल सादी, होटल सफा वल मरवा र होटल मजरेल इमान। यीमध्ये सबैभन्दा राम्रो होटल पहिलो हो। हज समितिका अधिकांश सदस्य यही होटलमा बसे। अन्य दुई होटल कमसल खालका छन्, जसमा बाँकी हाजीलाई राखिएको थियो। यी होटलले बाथरूममा बाल्टिन, मग, साबुन र तौलियासम्म दिएनन्, बाल्टिन र मग बाहिरका पसलबाट हाजीहरूलाई नै किन्न लगाए।
होटलहरूका धेरैजसो कोठाको एसीले काम नगरेको, एसी चलाउँदा सेता कीरा ओछ्यानमा खसेको गुनासो हाजीहरूको थियो। होटलको खाना कमसल र बासी भएकाले खानै नसकेर फालेको गुनासो पनि सुनियो। वास बसेका होटल मक्काको गन्तव्य स्थानबाट तीन किलोमिटर टाढा भएकाले वृद्ध हाजीहरूले चर्को घाममा दिनहुँ ४०–४० मिनेट ओहोरदोहोर गर्नुपर्ने भयो। जबकि गन्तव्य स्थानमै यी होटलभन्दा लगभग आधा दाममा होटलहरू सजिलै पाउन सकिने हाजीहरूले बताए।
हज समितिबाट सरकारी खर्चमा १५ जना मक्का गएका छन्। अझ कार्यवाहक अध्यक्षले यात्रा अवधिमा भत्ता स्वरूप १२०० र सदस्यहरूले १००० अमेरिकी डलर पाएका छन्। समन्वय र सेवाका लागि आवश्यक कर्मचारी मात्र यसरी पठाउनुपर्नेमा भागबन्डा अनुसार मानिसहरू पठाइएका छन्, जुन सरकारी रकमको दुरुपयोग हो।
चार जनासम्मको स्वास्थ्यकर्मी टोली पठाउनुपर्नेमा एक हजार १९१ हाजीका लागि एक डाक्टर मात्र पठाइएको छ। सरकारी खर्चमा गएका १५ जनामध्ये एक डाक्टर र अन्य पाँच जनाको नाम र फोन नम्बर सहजीकरणका लागि होटलमा टाँसिएको थियो, तर उनीहरूमध्ये धेरैजसोको फोन प्रायः नउठ्ने गरेको हाजीहरूको गुनासो थियो। समितिले औषधि उपलब्ध नगराएकाले बाहिरबाट महँगोमा औषधि किन्दा पैसा सकिएको उनीहरूले बताएका छन्।
गएको २५ दिनसम्म यस्ता विविध समस्या भोग्नुपरेपछि केही हाजीले त्यहाँको हज मन्त्रालयमा लिखित गुनासो गरे। उसले त्यहाँस्थित नेपाली दूतावास र हज समितिलाई दबाब दिएसँगै बल्ल आएर सुधारको आश्वासन दिइयो। यस्तो स्थिति निम्तिनु विदेशमा मुलुककै बेइज्जती हो।
मक्काको २५ दिनको सास्तीपूर्ण बसाइपछि हाजीहरू मीना पुगे। त्यहाँ पनि उनीहरूको हैरानी घटेन। उनीहरूलाई क्याम्पको क्षमताभन्दा बढी संख्यामा कोचेर राखियो। हिंड्ने, बस्ने र सुत्ने ठाउँ थिएन। कति जना बाहिर घाममा ओछ्यान राखेर बसे। पुरुषको क्याम्पमा महिला बस्न बाध्य भए। पैसा तिरेर पनि हाजीहरूले सुविधा पाएनन्।
छानबिनको प्रश्न
हजसित जोडिएका विभिन्न जटिलतालाई सहज गर्न गृह मन्त्रालयले नेपाल हज समिति गठन गर्यो। स्थापनाको शुरूआतदेखि नै समिति विवादले घेरिएको छ। समितिले आफ्नो काम प्रभावकारी ढङ्गले नगरेको, हजको सङ्कलित रकममा अनियमितता हुँदा आफूहरूले असुविधा र सास्ती खेप्नुपरेको हाजीहरूले गुनासो गर्दै आएका छन्। तर, यी गुनासो सुनेको नसुन्यै गरेर हरेक वर्ष उस्तै समस्या थोपर्ने गरिएको छ।
अनियमिततामाथि छानबिन गरेर दोषीहरूलाई कारबाही गर्न र हज समितिलाई प्रभावकारी बनाई तमाम समस्या निमिट्यान्न पार्न नसक्नुले यसभित्र धेरै पाटो लुकेको सङ्केत गर्छ। हज समिति राजनीतिक दलहरूका भ्रातृ संगठनको भर्तीकेन्द्र बनेको छ। यसकै कारण आफूहरूमाथि कुनै कारबाही नहुनेमा हज समितिका पदाधिकारी ढुक्क देखिन्छन्। उनीहरू निश्चिन्त हुनुको कारण उच्च नेताहरूको संरक्षण नै हो त? यस प्रकरणमा कतै नेताहरूको पनि संलग्नता भएकाले छानबिन नभएको त होइन? त्यस्तो होइन भने दलहरूले छानबिनका लागि अग्रसरता देखाउनुपर्छ।
नेपाली हाजीहरूले भोग्दै आएको सास्ती र भद्रगोल राज्यको लापरवाहीको मात्र उपज हो वा राज्यको माथिल्लो तप्काबाट पोषित भ्रष्टाचार पनि हो? हजका लागि खाइनखाई जम्मा गरेको पूँजी सरकारलाई सुम्पिँदा ठगीमा परेका गरीब हाजीहरूका यी प्रश्नको जवाफ सरकारले अब चाल्ने कदमले स्वतः दिनेछ।