किन चल्यो पोखरामा डोजर?
दुई वर्षअघि नै सडक विस्तार सम्झौता भए पनि अहिले आएर पोखराका मेयर धनराज आचार्यले मुग्लिन–पोखरा सडकखण्ड क्षेत्रका संरचना हटाउन डोजर चलाएका छन्।
पृथ्वी राजमार्ग विस्तारका लागि पोखरा महानगरपालिकाले सोमबारदेखि मापदण्ड विपरीतका संरचना हटाउन शुरू गरेको छ। महानगरले पृथ्वी राजमार्ग अन्तर्गत पोखराको पृथ्वीचोकमा रहेको सेती नदी पुलबाट विजयपुर खोलासम्म राजमार्गको दायाँबायाँ २३ मिटर मापदण्डभित्र परेका संरचना भत्काउन शुरू गरेको हो।
राजमार्ग क्षेत्रका स्थायी र अस्थायी गरी ६० भन्दा बढी संरचना भत्काउन लागिएको मेयर धनराज आचार्य बताउँछन्। एक महीनाअघि नै जानकारी गराए पनि अटेर गरेपछि डोजर चलाउनुपरेको आचार्यको भनाइ छ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पृथ्वी राजमार्ग विस्तारलाई द्रुत गतिमा सक्ने योजना सहित पूर्वी खण्ड (आँबुखैरेनी-जामुने) र पश्चिमी खण्ड (जामुने-पृथ्वीचोक) गरी दुई खण्डमा सडक विस्तार गर्न थालिएको छ। पश्चिमी खण्डको निरीक्षणका लागि आयोजनाको मुख्य सहयोगी एशियाली विकास ब्यांंक (एडीबी)को टोली असार २७ मा पोखरा आउने भएपछि सडक खाली गर्न शुरू गरिएको हो।
पश्चिमी खण्डको शुरूआतको बिन्दु सेती नदी पुलबाट विजयपुरसम्मका मापदण्ड विपरीतका संरचना हटाउन महानगरले तत्परता देखाएको छ।
सकिएला त एक वर्षसम्म?
एडीबीको सहुलियत ब्याजको ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्म दुई लेनको सडक विस्तार गरी चार लेनको फराकिलो बनाउन लागिएको छ। मुग्लिन-पोखरा सडकखण्ड अन्तर्गत पश्चिमतर्फ पोखराको सेती नदी पुलदेखि तनहुँको जामुनेसम्म ३८.८८ किलोमिटर क्षेत्र पर्छ भने जामुनेदेखि आँबुखैरेनीसम्म ४३ किलोमिटर सडक भने पूर्वी खण्डमा पर्छ।
पश्चिमी खण्ड सात अर्ब ४० करोड ४६ लाख रुपैयाँ र पूर्वी खण्ड ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा सक्ने गरी आयोजनाले दुई चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो। पूर्वी खण्डको चाइना कम्युनिकेशन कन्स्ट्रक्सन र पश्चिमी खण्डको अनहुई काइयुयान हाइवे एन्ड ब्रिज कम्पनीले ठेक्का पाएको थियो।
पश्चिमी खण्डको सडक विस्तारको काम ४२ महीनामा सक्ने गरी २०७८ जेठ २ मा सम्झौता भएको थियो। तर, सम्झौताको दुई वर्ष बितिसक्दा ७.८९ प्रतिशत मात्र भौतिक प्रगति भएको पश्चिमी खण्डका लेखा अधिकृत महेश ढकाल बताउँछन्। आयोजनाका लागि दिइएको समय २०८१ भदैमा सकिनेछ। अब एक वर्ष मात्र बाँकी रहँदा निर्धारित समयमा काम सम्पन्न हुनेमा आशङ्का छ।
अहिलेसम्म पृथ्वी राजमार्ग पश्चिमी खण्ड अन्तर्गत पर्ने मुख्य चार वटा मुख्य पुलमध्ये तीन वटा पुलकाे निर्माण कार्य भइसकेको छ भने साना आठ पुलमध्ये दुई वटामा मात्र काम भएको छ। जसमा पोखरा मुख्य बजार क्षेत्र प्रवेश गर्ने एक मात्र द्वार विजयपुर खोलाको पुलको काम अझै अघि बढेको छैन। विजयपुर खोलाको पुल चर्किएका कारण वेलाबखत सवारी आवतजावतमा समस्या निम्तिनेे गरेको छ।
विजयपुर खोलाको पुलको ढाँचाबारे निर्क्योल नहुँदा काम अघि बढ्न सकेको छैन। “अहिलेसम्म डिजाइनको काम नै नसकिएका कारण विजयपुर खोला पुलको काम अघि बढेको छैन,” ढकालले भने।
उनका अनुसार सडक विस्तार अन्तर्गत बिजुलीका पोल, खानेपानी पाइप स्थानान्तरण गर्नका निमित्त विद्युत् प्राधिकरण र खानेपानी संस्थानलाई आइतबार मात्रै सम्झौता अनुरूप पहिलो किस्ता बापत २० प्रतिशत बुझाइएको छ।
मुआब्जाको काम अझै बाँकी
आयोजना अन्तर्गत सडकको मापदण्डभित्र पर्ने घर तथा अन्य संरचनाको मुआब्जाका लागि आवेदन माग गरिएको थियो। जसमा नौ करोड ३७ लाख रुपैयाँ रकम वितरण गर्न योग्य रहेकोमा अहिलेसम्म चार करोड ८९ लाख रुपैयाँ मात्र वितरण गरिएको छ। सबैले मुआब्जा नपाउँदा आयोजनाको काम प्रभावित भएको छ।
पश्चिमतर्फको तनहुँ खण्डमा १३८ घरधनी र १५० संरचनालाई मुआब्जा क्षतिपूर्ति दिने तय भएको थियो। जसमध्ये दुई करोड १८ लाख रुपैयाँ मुआब्जा रकम वितरण गरिएको छ भने ३६ लाख रुपैयाँ वितरण गर्न बाँकी छ।
यस्तै, कास्की खण्डमा १३० घरधनी र १७० संरचना सडक विस्तारबाट प्रभावित छन्। जसमा ११२ वटा संरचनाको मुआब्जाका लागि दुई करोड ७० लाख रुपैयाँ मात्र वितरण भएकोे लेखा अधिकृत ढकाल बताउँछन्।
पृथ्वी राजमार्ग सडक विस्तारको काममा ढिलाइ भइरहेको छ। “शुरूमा तयारीका क्रममा पाइप स्थानान्तरण, विद्युत्को पोल सार्ने काम, सहायक कन्ट्र्याक्टरसँग सम्झौतामा ढिलाइ भयो,” उनी भन्छन्, “अलिकति असमझदारी पनि देखियो। हाम्रो समय गाइडलाइनमै बित्यो, अब भने यो सबै टुङ्गिएको छ।” खानेपानी र विद्युत् प्राधिकरणसँगको सम्झौता टुङ्गिएसँगै कामले गति लिने उनको भनाइ छ।